चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु
दमौली, २६ असोज (रासस) : चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ । लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा चितुवा आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् ।
तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् ।
चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ । –––
प्रतिक्रिया दिनुहोस्