चितवनमा सवारी दुर्घटनाको डरलाग्दो अवस्था, मानवीय कमजोरी मुख्य कारण

यही जेठ ९ गते राति खैरहनी–२ ज्यामिरेचोकस्थित पूर्वपश्चिम राजमार्गमा बस र ईभीकार ठोक्किँदा कार चालकको ज्यान गयो । अघिल्लो दिन बिहान भरतपुर–२९ गाईघाट भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेका दुईवटा ट्रक आपसमा ठोक्किँदा चालक च्यापिए । दुवै चालकको खुट्टामा चोट लागेर उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको थियो । दुर्घटनामा सातजना घाइते भएका थिए । 

जेठ ५ गते भरतपुर–२९ स्थित जुगेडी बजार नजिकै दिनको समयमा सवारी दुर्घटना भएको थियो । काठमाडौंबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस विपरीत दिशातर्फ गइरहेको मोटरसाईकलसँग ठोक्किन पुग्दा माइक्रो अनियन्त्रित भई सडकछेउ पल्टिन पुगेको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना र माइक्रो चढेका ८ जनासहित १० जना घाइते भएका थिए । कसैको नाक र चिउडो त कसैको हातखुट्टा, ढाडलगायतका अंगमा चोट लागेको थियो । 

frontline

सोही दिन बिहान ११ बजेतिर रत्ननगरमा टाँडी चोकबाट २ नं. रोडतर्फ जाँदै गरेको ट्रान्सपोर्टको सामान लोड भएको ठेला पनि आफैं अनियन्त्रित भई पल्टिने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा एकजना घाइते भएका थिए ।  त्यसको अघिल्लो दिन भरतपुर–२५ मा मोटरसाइकल आफैं अनियन्त्रित हुँदा चालक घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको थियो । त्यहि दिन भरतपुर–३ लायन्सचोकमा पनि एउटा मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएर नारायणी सामुदायिक हस्पिटलमा उपचार गरिँदा नभएर थप उपचारको लागि मेडिकल कलेज लैजानुपरेको अवस्था थियो । 

भरतपुर–१४, नमस्तेचोकमा जेठ ३ गते दिउँसो १ बजेतिर चलिरहेको मोटरसाइकल आफैं अनियन्त्रित भई रोड छेउमा रहेको पोलमा ठोक्किन पुग्दा चालक गम्भीर घाइते भए । सोही दिन भरतपुर–१ स्थित हरिहर मार्गमा दिउँसो एउटा स्कुटरले बाटोमा खेल्दै गरेको ३ वर्षीय बालिकालाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेर मध्यम हालतमा उपचारमा लैजानुपरेको थियो ।

सोही दिन नै राप्तीको बाघचोकमा एउटा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र चालक दुवै घाइते भएर उपचारको लागि मेडिकल कलेज लगिएको थियो । माडी–२ मा ओरालोमा ब्रेक फेल भएर त्यहि दिन एउटा ट्याक्टर पल्टेको थियो । ३ गतेकै कुरा, रत्ननगर–३ मा एउटै दिशामा अगाडि कुदिरहेको म्याजिकलाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएर अस्पताल लगिएको थियो । 

भरतपुर–११ मा भोजाडचोक नजिकै नेटको तारमा अल्झेर मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भई मेडिकल कलेजमा लगेर उपचार गराउनुपरेको पनि त्यहि दिन हो । ३ गते रातको समयमा रत्ननगर–८ चित्रसारीमा सौराहाबाट आइरहेको एउटा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको टाउको र अनुहारमा चोट लागेको थियो । ती चालकले मापसे गरेको खुलेको थियो ।

जेठ २ गते अपराह्न ४ बजेतिर भरतपुर–२८ मा माइक्रोले स्कुटरलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा स्कुटर चालक घाइते भई उपचारको लागि भरतपुर अस्पताल पठाइएको थियो । २ गते नै भरतपुर–२ मा पनि सवारी दुर्घटना भएको थियो । स्कुटरले स्कुटरलाई ठक्कर दिँदा एकजना चालक घाइते भएर उपचारको लागि मेडिकल कलेज लगिएको थियो । त्यसैदिन रत्ननगर–१० स्थित पूर्वपश्चिम राजमार्गमा बिहान झिसमिसेमा एउटा यात्रुवाहक बस डिभाइडरमा ठोकिएर पल्टिँदा बसमा सवार १५ यात्रु घाइते भई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको थियो । 

गत आइतबार पनि भरतपुर –१५ मा एउटा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री महिला घाइते भएकी थिइन् । अस्ति इच्छाकामना–५ मा एउटा मोटरसाइकल भीरबाट खसेको अवस्थामा भेटिएको पनि प्रहरीले जानकारी गराएको छ ।

जेठ महिनामा भएका सवारी दुर्घटनाका प्रतिनिधि घटना हुन् यी । चितवनमा दिनदिनैजसो यस्ता दुर्घटना भइरहेको छ । चालु आर्थिक वर्षको अहिलेसम्म साना–ठूला गरेर ९४० वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले बताएको छ । त्यसबाट १०१ जनाको मृत्यु भएको पनि कार्यालयले जनाएको छ । 

सामान्य–गम्भीर सबैप्रकारका गरेर चालु आवमा सवारी दुर्घटना परि १६ सय ८६ जना घाइते भएको रेकर्ड छ । गत आव २०८०–०८१ मा सवारी दुर्घटनाबाट चितवनमा ११५ जनाको मृत्यु भएको थियो भने १५० जना गम्भीर घाइते भएका थिए । २०७९–०८० मा पनि ७८ जनाले ज्यान गुमाउनुपरेको थियो भने १७० जना गम्भीर घाइते भएका थिए ।

बढीजसो सवारी दुर्घटना मानवीय कारणले भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्मा बताउँछन् । मुख्यतया सवारी दुर्घटना मानवीय कारण, सडकको कारण, यान्त्रिक कारण, प्राकृतिक र वातावरणीय कारणबाट हुने गर्दछ । मानवीय कारणमा सवारी चालकको लापरवाही प्रमुख देखिएको छ–मापसे, लापसे, तीव्र गति र ओभरटेक । 

‘सवारी नियम जस्तो जीवन–मरणको नियमलाई कसैले पनि हल्का रुपमा लिनुभएन’, ट्राफिक प्रहरी निरीक्षक शर्माले भने, ‘विद्यालयमा ६० पर्सेन्ट ल्याए फर्स्ट डिभिजन, ८० पर्सेन्ट ल्याए डिस्टिंक्सन भन्ने हुन्छ । तर सवारी नियमको विषयमा १०० पर्सेन्ट नै जरुरी छ ।’ 

चितवन जिल्ला नेपालको पूर्व र पश्चिमबाट राजधानी काठमाडौं भित्रिने सवारी साधनहरुको एक संगम बिन्दुको रुपमा रहेकोले ट्राफिक व्यवस्थापन गर्न त्यति सहज नभएको बताइन्छ । प्रहरी निरीक्षक शर्मा भन्छन्, ‘ट्राफिक प्रहरीको मात्रै भर परेर हुँदैन । हरेक सडक प्रयोगकर्ताले सवारी नियम जान्न र मान्न आवश्यक छ । यो नजान्दा नमान्दा बित्तिकै हानि–नोक्सानी छ ।’

सडक, सवारी र ट्राफिक प्रहरीको अवस्था

चितवनमा ५१ हजार सवारी साधन दर्ता छन् । यस हिसाबले पनि एउटा ट्राफिक प्रहरीले ६२५ वटा गाडी हेर्नुपर्ने अवस्था छ । चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किमि रहेको छ । सडकको कुल लम्बाइ २९३९ किमि छ । त्यस्तै राजमार्गको लम्बाइ छ–९३.३९ किमि । 

चितवनमा ट्राफिक प्रहरीको संख्या भने जम्मा ८२ जना रहेको कार्यालयले बताएको छ । यसअनुसार एकजना ट्राफिक प्रहरीले ३६.७३ किमि सडक हेर्नुपर्ने हुन्छ । राजमार्ग प्रतिट्राफिक १.१६ किमि पर्दछ । अझ जनसंख्या (सात लाख १३ हजार ७५०)को आधारमा हेर्ने हो भने त एकजना ट्राफिकले ८७०४ जनालाई हेरेर भ्याउनुपर्छ । 

चितवनमा अहिलेसम्म दर्ता सवारी साधनको संख्यामात्रै ५१ हजार ९६७ रहेको यातायात व्यवस्था कार्यालय, भरतपुरको रेकर्डमा छ । अन्य जिल्ला र प्रदेशमा दर्ता भएर यहाँ चलिरहेका सवारी साधन पनि सोही हाराहारीमा रहेको ट्राफिक प्रहरी बताउँछन् । यीबाहेक झण्डै २५ हजार सवारीसाधनहरु दैनिक रुपमा यहाँको राजमार्ग हुँदै गुड्ने गरेको पनि ट्राफिक प्रहरीले बताएका छन् ।

‘हामीबाट मात्रै कसरी सम्भव छ ?’, ट्राफिक प्रहरी प्रमुख भन्छन्, ‘जबसम्म सडक नियमलाई सडक सभ्यताको रुपमा विकास गरिँदैन, तबसम्म दुर्घटना कम हुँदैन । सवारी दुर्घटना भोगेर सिक्ने विषय होइन । यो त सुनेर, देखेर, बुझेर व्यवहारमा उतार्ने कुरा हो ।’

पैदलयात्रीले गर्नुपर्ने पालना 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ मा पैदलयात्री सडक पेटीबाट हिँड्नुपर्ने लेखिएको छ । पेटीबाट हिँडेनौं, सडकबाट हिँड्यौं भने पछाडिबाट आएको गाडीले ठक्कर दिन सक्छ । पेटी नभएको अवस्थामा सडकमा जहिलेपनि दाहिने किनारबाट हिँड्नुपर्छ । लेफ्ट साइड ड्राइभिङ सिस्टम भएको हाम्रो देशमा लेफ्ट साइडबाटै हिँड्यौं भने वा त्यसैबाट मर्निङवाक गर्यौँ भने पछाडिबाट सवारी साधन आइरहेको हामी देख्दैनौं । 

राइट साइडबाट हिँड्दा अगाडिबाट सवारी साधन आएको ठ्याक्कै देखिन्छ र हामी सचेत हुन पाइन्छ । त्यसैले पेटी छ भने पेटीबाट र पेटी नभएको अवस्थामा जहिलेपनि सडकको दाहिने किनारबाट हिँड्नुपर्ने हुन्छ । सोही ऐनको दफा १३७ मा निर्धारित ठाउँबाट मात्रै बाटो काट्नुपर्ने भनिएको छ । जस्तो जेब्राक्रस वा ओभरहेड ब्रिजबाट । त्यस्तो छैन भने ट्राफिक प्रहरीले पैदलयात्रीलाई पनि कारबाही गर्न सक्छ । 

‘हामीकहाँ ट्राफिक नियम पालनाको रेट कम छ । ट्राफिक प्रहरीको डरले होइन जबसम्म मान्छेले स्वतःस्फूर्त रुपमा ट्राफिक नियम पालना गर्दैन, यो पूर्णरुपमा पालना हुन सक्दैन’–शर्माले भने । 

नीति नबन्दा रोकिएन दर्ता

चितवनमा साना सवारी साधनको संख्या र सवारी चाप दिनदिनै बढेको बढ्यै छ । सार्वजनिक सवारीको रुपमा म्याजिक र अटो रिक्सा धेरै छन् । यसलाई घटाएर ठूलो गाडी चलाउन आवश्यक देखिएको भएपनि सम्बन्धित निकायबाट यसतर्फ अहिलेसम्म कुनै काम भएको छैन । यातायात व्यवस्था कार्यालयले अझैपनि भटाभट म्याजिक र अटोहरु दर्ता गरिरहेकै छ । 

चालु आवको अहिलेसम्म १९ हजार ९४१ वटा सवारी साधन दर्ता भएकोमा जीप/भ्यान/कार मात्रै ६९४ वटा दर्ता भएको रेकर्ड छ । अटो टेम्पो पनि ९०९ वटा नयाँ दर्ता गरिएका छन् । यसवर्ष १८ हजार भन्दा बढी त दुईपांग्रे मोटरसाइकल र स्कुटरहरु नै छन् । अहिलेसम्म दर्ता भएकामात्रै अटो/टेम्पो करिब १६०० वटा र त्यही हाराहारीमा कार-जीप-भ्यान-पिकअपको संख्या देखिन्छ । यीबाहेक अन्य जिल्ला र प्रदेशमा दर्ता भएका सवारी साधनहरु पनि यहाँ ठूलो संख्यामा चलिरहेको ट्राफिक प्रहरी बताउँछन् । 

‘कानुनले रोक नभनेसम्म रोक्न पाइँदैन । दर्ता गराउने व्यवसायीको अधिकार रह्यो’ यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनका प्रमुख विष्णुकुमार भट्टराईले भने, ‘सडकको हिसाबमा त रोक्न आवश्यक देखिन्छ तर यसका लागि नीतिगत निर्णय हुनुपर्छ । अब पालिकाहरुबाटै यसनिम्ति आवश्यक काम हुनुपर्‍यो ।’ 

यातायातका यी हाकिम पनि सानालाई विस्थापित गरेर सीमित मात्रामा ठूला सवारी साधन सञ्चालन गर्दा सडकमा सवारी चाप कम हुने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउँछन् । ‘चितवनमा सवारी साधनका लागि सडकमा सीमांकन, रेखांकन, सडकबत्ती र सांकेतिक ट्राफिक चिन्हको पनि अभाव देखिन्छ’ उनले भने, ‘गति नियन्त्रणको संकेत त झन् मैले कहीँ पनि देखेको छैन ।’

बाटो फराकिलो बनाइएपनि सार्वजनिक यातायातमा यात्रु अचेटिन छोडेका छैनन् । सडकमात्रै बनाउने, सवारी व्यवस्थापनमा ध्यान नदिने हो भने के काम ? कमसेकम ठूला गाडी चलिदिने हो भने यात्रामा सहज हुने र सडकमा सवारी चाप कम भएर दुर्घटना न्यूनिकरण हुने टड्कारो विषय देखिएपनि स्मार्ट सिटी भन्ने गरिएको भरतपुर महानगरपालिकामा समेत अहिलेसम्म योखाले कुनै नीति नबनेको महानगरपालिकाको यातायात शाखा हेर्ने कर्मचारी बालकृष्ण थपलिया बताउँछन् ।

‘तर यो आवश्यक विषय हो’, उनले पनि भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here