चाडपर्व नजिकिँदा अटो बजार तात्यो, सवारी खरिदमा १२ लाखसम्म छुट
काठमाडौं : दसैं नजिकिएसँगै नेपाली अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। दसैं–तिहारलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीले नयाँ सवारीसाधन खरिदमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बिमा, सडक कर छुट, फाइनान्स सुविधा तथा आकर्षक उपहारसहितका योजना सार्वजनिक गर्न थालेका छन्।
पछिल्लो समय सुस्त रहेको अटो बजारलाई चाडपर्वको बिक्रीले गति दिने अपेक्षा व्यवसायीको छ। नेपाली अटोमोबाइल बजारमा दसैंलाई सवारीसाधन खरिद–बिक्रीको मुख्य सिजन मानिन्छ। चाडपर्वमा नयाँ सामान घर भित्र्याउने परम्पराका कारण नयाँ सवारीसाधन खरिद गर्ने ग्राहक बढ्ने ‘ट्रेन’ छ। तर यस वर्ष चीनतर्फको नाका बन्द भएपछि सवारी त्यताबाट आयात हुने विद्युतीय सवारी रोकिएको छ। यस वर्ष पनि विभिन्न ब्रान्डले ग्राहक आकर्षित गर्न लाखौं रुपैयाँसम्मको नगद छुटसहित अन्य सुविधा सार्वजनिक गरेका छन्। केही ब्रान्डले नयाँ गाडीमा १२ लाख रुपैयाँसम्मको छुट तथा सुविधा उपलब्ध गराएका छन्।
अटो व्यवसायीका अनुसार बजारमा पहिलेजस्तो उत्साह भने छैन। महेन्द्रा गाडीका सिनियर म्यानेजर सन्तोषी नेपालले अटो बजार अघिल्ला वर्षको तुलनामा सुस्त रहेको बताइन्। यद्यपि, दसैं–तिहारको अफरले बजारमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ। दसैं–तिहारलाई लक्षित गरी सार्वजनिक भएका यी अफरमा विशेषगरी विद्युतीय चारपांग्रे सवारीमा ठूलो नगद छुट र सुविधाको प्याकेज देखिएको छ भने दुईपांग्रे बजारमा क्यासब्याक, पुरस्कार, एक्सचेन्ज तथा शून्य प्रतिशत ब्याजदरका योजनाले प्रतिस्पर्धा बढाएका छन्।






प्रतिक्रिया दिनुहोस्