चक्रपथ बिस्तारको निर्माण कार्य अघि बढ्यो
१७ असार, काठमाडौं । चक्रपथ सुधार योजनाले चक्रपथ विस्तारमा निर्माण गरिने विधिन्न सर्भिस ट्रयाक र कल्भर्टको लागि ठेक्का लगाएको छ।
उक्त ठेक्का पाउने निर्माण व्यवसायीहरुले चक्रपथमा रहेको स्वयम्भू गुम्बादेखि बिष्णुमतिसम्म र बिष्णुमतिदेखि बसुन्धरासम्मको दुबै पट्टिको सर्भिस लेन निर्माण कार्य गर्नुपर्नेछ। साथै कलंकी चोकदेखि स्युचाटार पुलसम्मको पनि सर्भिस ट्रयाक निर्माण गर्ने रहेको छ।
सुधार योजनाले स्वयम्भू गुम्बादेखि बिष्णुमतिसम्म रहेको दुबै साइडको सर्भिस लेन निर्माण तथा मर्मतको लागि ३५ करोड ८६ लाख रुपैयाँमा वर्ल्डवाइड-पीआर-सुशान जेभीले पाएको छ।
यस्तै बिष्णुमतिदेखि बसुन्धारासम्मको सर्भिस ट्रयाक निमार्ण तथा मर्मत कार्यको लागि पनि वर्ल्डवाइड-पीआर- सुशान जेभीले नै ठेक्का पाएको छ। उक्त निर्माण कम्पनीले दुबै साइडको सर्भिस लेन तथा कल्भर्ट निर्माणको लागि २७ करोड ३९ लाख रुपैयाँमा ठेक्का पाएको हो।
साथै कलंकीदेखि स्युचाटार पुलसम्मको सर्भिस ट्रयाक निर्माणको लागि ६ करोड ४४ लाख रुपैयाँमा सुशान-रेनाइसेन्स जेभीले पाएको छ।
यो सडक विस्तार बहुवर्षिय प्रवृतिको भएका कारण यसको समयावधि एक वर्ष भन्दा धेरै रहेको छ। निर्माण व्यवसायीहरुले १८ देखि २४ महिनामा यसको निर्माणकार्य सम्पन्न गर्नुपर्ने छ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार नेपाल पक्ष गर्नु पर्ने कामको मात्र अहिले ठेक्का लगाइएको हो।
चिनियाँ पक्ष भने साइट क्लियर नभएको भन्दै निर्माण कार्य सुरु गर्न आलटाल गरिरहेको उनको भनाइ छ। ‘उनीहरु १०० प्रतिशत साइट क्लियर खोजिरहनु भएको छ,’ उनले भने, ‘साइट क्लियरको लागि केही ठाउँमा अझै प्रक्रियामै रहेका छन्।’
अधिकारीले साइट क्लियर भएको साइटमा आएर निर्माण कार्य सुरु गर्न भनिएको बताए।
प्रतिक्रिया दिनुहोस्