घानाको संसद्भित्र कुटाकुट
७ पुस, काठमाडौं । विद्युतीय कारोबारमाथि कर लगाउनेसम्बन्धी प्रस्तावबारे छलफल हुने क्रममा घानाको संसद्भित्र कुटाकुट भएको छ ।
हप्तौंदेखि सांसद विभाजित बनाएको विद्युतीय कारोबारमाथि कर लगाउने प्रस्तावबारे सोमबार समेत छलफल भएको र सोही क्रममा सांसदहरूले एक-अर्कालाई मुक्का हानाहान गरेको द गार्जियनले जनाएको छ ।
उप-सभामुख जोसेफ ओसेइ ओवुसुले करबारे छलफल गरी पारित गर्नुपर्ने आवश्यकता रहेको भनेपछि उनलाई विपक्षी सांसदले घेराउ गरेका थिए ।
र सोही क्रममा विवाद चर्किएपछि सांसदबीच कुटाकुट भएको थियो । उक्त घटनापछि १८ जनवरीसम्मका बैठक स्थगित गरिएको समाचारमा उल्लेख छ ।
मोबाइलबाट हुने भुक्तानीसहितका विद्युतीय कारोबारमाथि १.७५ प्रतिशत कर लगाउने प्रस्ताव गत महिला संसद्मा पेश गरिएको थियो ।
अर्थ मन्त्री केन ओफिरी अट्टाले विद्युतीय कारोबारमाथि कर लगाउँदा करको दायरा बढ्ने र आगामी वर्ष १ अर्ब १५ करोड डलर राजस्व संकलन हुने तर्क गरेका छन् ।
तर विपक्षी सांसदले उक्त प्रस्तावको विरोध गर्दै आएका छन् । विद्युतीय कारोबारमा कर लगाउँदा न्यून आय भएका र औपचारिक बैंकिङ प्रणालीबाहिर रहेका एवं मोबाइलबाट कारोबार गर्ने मानिस प्रभावित हुने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्