घर परिवार सूचीकरण कार्य ९० प्रतिशत सम्पन्न

बैतडी, १६ असोज (रासस) ः राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत घर तथा घर परिवार सूचीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । घर तथा घर परिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरिवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

सूचीकरणका लागि गत भदौ ३० देखि ८० जना सुपरिवेक्षक गाउँगाउँमा परिचालन गरिएका हुन् । उहाँले भन्नुभयो, “सुपरिवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार सङ्ख्या दर्ता भइसकेको छ ।”

frontline

असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर र जनगणना परिवार सङ्ख्या गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा मुख्य गरी घर तथा परिवारको गणनाको काम भइरहेको छ ।” यसका साथै घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सुपरिवेक्षकले सोध्ने गरेका छन् ।

गाउँगाउँमा परिचालन गरिएका सुपरिवेक्षकलाई सङ्कलन गरेको तथ्याङ्क भर्नेमा भने समस्या भइरहेको पन्तले बताउनुभयो । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ । उहाँले भन्नुभयो, “सुपरिवेक्षकले मोबाइल एपको सहायताले कार्यस्थलबाटै दैनिक विवरण भर्ने गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या हुँदै आएको छ ।”

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरिवेक्षकलाई तथ्याङ्क भर्न समस्या देखिएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा ४५ हजार परिवार सङ्ख्या छ ।

पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ । मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले प्रत्येक १०÷१० वर्षमा जनगणना गर्ने गर्दछ । यसपालिको जनगणना ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ भइरहेको हो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here