ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज हुने

२ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकआपसमा मर्ज हुने भएका छन् ।

आज (बिहीबार) यी दुवै बैंकबीच मर्जका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

frontline

मर्जर सम्झौता भएसँगै यी दुवै बैंकको शेयर दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । दुई ठूला बैंकहरूबीच भएको यो ‘बिग मर्जर’ सम्झौताले नेपाली बैंकिङ क्षेत्रमा तरंग ल्याएको छ ।

बैंकहरुको संख्या घटाउने र बिग मर्जरमा लैजाने केन्द्रीय बैंकको नीति रहेसँगै यस मर्जरले अन्य बैंकहरुबीचको बिग मर्जरको ढोका समेत खुलेको छ ।

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम भने ‘ग्लोबल आइएमइ बीओके’ बैंक रहने बताइएको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने हाल ग्लोबल बैंककै सिइओ रत्नराज बज्राचार्य रहनेगरी सम्झौता भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको चुक्ता पुँजी १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ, जुन पुँजीका हिसाबले नेपालकै सर्वाधिक ठूलो बैंक हुनेछ ।

मर्जरमा दुवै बैंकको समान हैसियत हुने बताइएको छ । स्वाप रेसियो पनि १ः१ अनुपातमा कायम रहने समझदारी भएको छ । मर्जरपछि बन्ने बैंकको पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here