गौर नरसंहार : माओवादीले बिर्सियो, प्रभुले सम्झिए

७ चैत, रौतहट । गौर नरसंहारको आज १८ वर्ष पुगेको छ । २०६३ चैत ७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी बीच सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।
फोरम र माओवादी दुवैले मञ्च बनाएर आमसभा गर्न थाल्दा झडप शुरु भएको थियो । एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरम समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।




गौर राइसमिलको उतरपट्टि माओवादी र दक्षिणपट्टि फोरमले कार्यक्रमका लागि मञ्च बनाएका थिए ।
कहाँ–कहाँ कति मारिएका थिए ?

राइसमिल चौरस्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चाको मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भएको थियो । गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा मारिएकी प्रतिमा खातुनको बलात्कार पछि आगो लगाई हत्या भएको थियो ।
त्यसैगरी अर्को निर्मम हत्या हजमनिया बौधिमाई मन्दिर नजिकै भएको थियो । गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको सो स्थानमा पूर्व सर्लाहीतर्फ भाग्दै गरेका माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई सामूहिक रुपमा ११ जनाको नृशंस हत्या गरेका थिए । सो ठाउँमा रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई बलात्कारपछि आगो लगाएर हत्या गरिएको थियो ।
त्यसैगरी गौर बजारभित्रै रौतहट गेष्टहाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका मोर्चाका कार्यकर्ताहरुलाई बाहिर थुतेर हत्या गरिएको थियो ।
यसैगरी गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा रमाकान्त चौधरीको हत्या गरेर बाँसघारीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।
तत्कालीन नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको सिर्सिया र मुडवलवाको चौरछेउ अन्य तीन जना मारिएका थिए । अर्का एकजना मोर्चा कार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंक कार्यालय नजिकै हत्या गरी नालामा फालिएको अवश्थामा शव फेला परेको थियो ।
विश्वमै चर्चित बनेको यो नरसंहारको घटनापछि माओवादीका शीर्ष नेताहरु गौर आएर शव संकलन गरी काठमाडौंमा लगेका थिए । काठमाडौंको खुलामञ्चमा श्रद्धाञ्जली कार्यक्रमपछि सामूहिक दाहसंस्कार गरिएको थियो ।
हाल जसपा नेपालका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर सो मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकाले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरे पनि दोषीहरुलाई कारवाही हुन सकेको छैन ।
माओवादीले बिर्सियो, प्रभुले सम्झिए

विहीबारको प्रतिनिधि सभा बैठकमा पूर्वमाओवादी समेत रहेका आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्ड स्मरण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे । अनि हत्याकाण्डमा संलग्नलाई कारबाहीको माग गरे ।
माओवादी सांसदहरुले पनि प्रतिनिधि सभा बैठकमा बोले तर उनीहरुले गौर हत्याकाण्डको उच्चारण नै गरेनन् ।
आजपा सांसद प्रभु साहले भने हत्याकाण्डका योजनाकार तथा हत्यारा विरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको जानकारी गराए । अपराधीहरुलाई कारवाही गरी गौर हत्याकाण्डका कारण रौतहटमाथि लागेको कंलक हटाउन उनले माग गरे ।
अध्यक्ष साहले भने, ‘यहाँ जाहेरी दर्ता भएको छ, तत्कालीन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ ।’
घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकाले अब हत्यामा संलग्नहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहले बताए ।
गौर हत्याकाण्ड|| प्रभु साह|| माओवादी केन्द्र
प्रतिक्रिया दिनुहोस्