गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले अब दैनिक उडान गर्ने
७ भदौ, काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘सोही अनुसार उडान थप हुन लागेको हो ।’
जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।
यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन् ।
नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरुको छ ।
एयर चाइनालाई उडान थप्न आह्वान
यता, प्राधिकरणका अधिकारीहरुले एयर चाइनालाई नेपालमा उडान बढाउन समेत आह्वान गरेका छन् ।
प्रवक्ता निरौलाका अनुसार चीनमा हिमालय एयरलाइन्सको उडानलाई प्रतिवन्ध लगाएसँगै नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने यात्रु समस्यामा परेका छन् ।
सोहीकारण मौखिक रुपमा एयर चाइनालाई उडान थप्न आह्वान गरिएको हो । ‘यात्रु पर्याप्त भएकाले यहाँ उडान थप गर्नुहोस् भनी मौखिक आह्वान भएको छ’ उनले भने ।
चीनमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान बढाउन नसक्दा समेत यो रुटमा विदेशी एयरलाइन्सको भर पर्नुपर्ने बाध्यता रहेको छ ।
साविकमा भारतपछि धेरै पर्यटक आउने मुलुकमा चीन पर्छ । यस बाहेक अन्य कम्पनीबाट भने नेपाल उडानलाई कुनै अनुमति माग नभएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्