गोरखामा चार करोड बढी खर्चेर बनाइएको ज्येष्ठ नागरिक भवन सञ्चालनमै अन्योल

मोडालिटी नै टुंगो नलागेको र कार्यविधि समेत नबनेकाले भवन अझै सञ्चालनमा आउन सकेको छैन ।

२६ वैशाख, गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा चार करोड बढी रकम खर्च गरेर बनाइएको सुविधासम्पन्न ज्येष्ठ नागरिक आवास भवन सञ्चालनमा अन्यौलता देखिएको छ ।

frontline

वृद्धाश्रमको रुपमा प्रयोग गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले उक्त भवन बनाएको हो । तर भवन स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वा प्रदेश आफैंले सञ्चालन गर्ने भन्ने अन्योल छ । मोडालिटी नै टुंगो नलागेको र कार्यविधि समेत नबनेकाले भवन अझै सञ्चालनमा आउन सकेको छैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन सञ्चालनका लागि तीन वटा मोडालिटी सोचिएको बताए । ‘कुनै संस्थालाई चलाउन दिने वा स्थानीय तहसँग सम्झौता गरेर चलाउने वा प्रदेश आफैंले चलाउने भन्ने तीन वटा मोडालिटी हामीले सोचेका छौं,’ उनले भने, ‘आवश्यक छलफल गरेर यीमध्ये एउटा मोडालिटीमा सञ्चालन गर्छौं ।’

भवन सञ्चालनका लागि कार्यविधि समेत तयार गरिने उनले जानकारी दिए । पोखरामा महानगरपालिकासँगको साझेदारीमा घरेलु हिंसा पीडित महिलाहरुको उद्दार केन्द्र सञ्चालनका लागि सम्झौता भएर कार्यविधि समेत निर्माण भएको बताउँदै उनले सोही कार्यविधि अनुसार ज्येष्ठ नागरिक आवास भवन सञ्चालन गर्न सकिने धारणा राखे ।

ज्येष्ठ नागरिक आवास बाहेक अन्य प्रयोजनका लागि पनि भवन प्रयोग हुन सक्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा मुख्यमन्त्री पाण्डेले भने, ‘ज्येष्ठ नागरिककै लागि भनेर हामीले यो भवन बनाएका हौं । त्यसको सम्भावना देखिएन भने पनि सामाजिक प्रयोजनका लागि बनेको भएकाले व्यापारिक प्रयोजनमा जाँदैनौ, जुन प्रयोजनका लागि बनेको हो त्यसकै लागि प्रयोग गर्न प्रयत्न गर्छौं ।’

बिहीवार उनले उक्त भवनको स्थलगत निरीक्षण समेत गरेका छन् ।

२०७६ सालबाट भदौ १ गते आशिष ईको जेभीसँग ठेक्का सम्झौता भएर भवन निर्माणको काम अघि बढेको थियो । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि गत असोज महिनामा मात्र भवन निर्माण सम्पन्न भएको थियो ।

पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीका अनुसार ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न नभएपछि विभिन्न चरण गरी तीन पटक म्याद थप भएको थियो ।

‘शहरी विकास तथा भवन कार्यालयसँग सम्झौता भएर काम अघि बढेको रहेछ,’ सुवेदीले भने, ‘पछि यो योजना हाम्रो कार्यालयलाई हस्तान्तरण भयो ।’

प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरुप गण्डकी प्रदेशको गोरखामा सो भवन बनाइएको हो ।

कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । वृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् ।

सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ ।

भवनमा रंगरोगनसँगै बिजुली जडान भइसकेको छ । केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको कार्यालय प्रमुख सुवेदीले बताए ।

भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालोपत्रे र ढलान गरिएको छ । भवन रेखदेखका लागि एक जना व्यक्ति समेत खटाइएको छ ।

गोरखा |ज्येष्ठ नागरिक भवन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here