गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव

गोरखा । गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव भएको छ । चुमनुब्री गाउँपालिका ७ मा चामल अभावका कारण स्थानीयबासी चम्पा र थुक्पाका भरमा बसेका वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

‘चामल त कसैको घरमा पनि छैन । चम्पा र थुक्पा खाएर बसेका छौँ,’ उनले भने, ‘चम्पामा चिनी हाल्नुपर्छ । चिनी पनि छैन।’ थुक्पामा प्रयोग गर्ने नुन, तेल, घ्यू पनि सकिएको उनले बताए। बजारमा नून प्रतिकिलो २५० पर्ने स्थानीय डोबर लामा बताउँछिन् । ‘केहीदिनअघिसम्म चिनी एक किलोको तीनसय रुपैयाँ, चामल २५ किलोको बोरालाई छ हजार रुपैयाँ पथ्र्यो । खानेतेल आधा लिटरको पोकालाई दुईसय ५० पथ्र्यो’, लामाले भनिन्, ‘तर अहिले कतै पनि पाइँदैन ।’

frontline

पूजाआजा गर्न घ्यूतेल नपाएर चौपट भएको स्थानीय चुमगुम्बाका प्रमुख लामा समेत रहेका वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘गाउँमा मान्छे मरेका छन् । ४९ दिनसम्म हप्ताहप्तामा १०८ बत्ती बाल्नुपर्छ तर घ्यूतेल नपाएर बत्ती नै बालेको छैन’, उनले भने, ‘घरको पनि सकियो, पसलको पनि सकियो, गुम्बाको पनि सकियो । अब के गर्ने त ?

कोरोना र बाढी पहिरोले गाउँमा नाकाबन्दी भएको अर्का स्थानीय दोर्जे लामा बताउँछन् । ‘चाइनातिरबाट ल्याउँ भने कोरोनाले गर्दा चाइनाले दुईबर्षदेखि नाकाबन्दी गरिदियो । तलबाट ल्याउँ भने कतै जान सक्ने अबस्था छैन,’ उनी भन्छन्, ‘हेलिकोप्टर चार्टर गरुँ भने सकिदैन ।’ केही दिनदेखि गाउँमा खाद्यान्नको चरम समस्या भएको उनको भनाइ छ ।

स्थानीय निमा लामाका अनुसार लोक्पाको पहिरो र सर्दीभीरको क्याण्टिलिभर पुल भत्किएपछि समस्या जटिल बनेको हो । ‘जगत बगर र यारु बगरको कटानको समस्या त जसोतसो टरेको थियो । अहिले फेरि लोक्पामा ठूलो पहिरो झरिरहेको छ, ‘लामाले भने, ‘त्यहाँभन्दा अल्लि माथि सर्दीभीरको क्याण्टिलिभर पुल पनि पहिरोले भत्काइदियो । त्यसपछि हिँडडुल गर्न र सामान ढुवानी गर्न सम्भवै भएन ।’ 

केहीदिनअघि लोक्पामा पहिरो झर्दा खाद्यान्न ढुवानी गरिरहेका १६ वटा खच्चड पुरिएर मरेका थिए। क्याण्टिलिभर पुल पनि भत्किएको थियो । सो क्षेत्रका जनप्रतिनिधि सांसद हरि अधिकारीले क्याण्टिलिभर पुल मर्मत गर्नु जरुरी रहेको बताए। तर समय अभावका कारण त्यसको पहल गर्न नभ्याएको बताएका छन् । 

‘यारु बगरको क्याण्टिलिभर पुलको बरु विकल्प छ, तर सर्दीभीरको क्याण्टिलिभर पुलको विकल्प छैन,’ उनले भने, ‘त्यो मर्मत नगरेसम्म जनजीवनमा ठूलो असर पर्छ ।’चुमनुब्री गाउँपालिका- ६ (साविक चुम्चेत गाविस) र वडा नं. ७ (साविक छेकम्पार गाविस)मा उत्पन्न समस्या समाधानका लागि आफ्ना लाइनका प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here