गोरखाकाली रबर उद्योग पुन: सञ्चालन गर्ने प्रचण्डको चुनावी प्रतिबद्धता
१८ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाका जनतासँग भोट माग्दै विभिन्न वाचा र प्रतिबद्धता जनाउँदै आएका छन् ।
जनयुद्धको ऐतिहासिक भूमि गोरखा भन्दै गोरखाका जनतासँग घरदैलो तथा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्डले आफूले गोरखाको विकास गर्न यस क्षेत्रमा आएको बताउँदै आएका छन् । यही क्रममा आजको चुनावी सभामा उनले गोरखाकाली रबर उद्योग पुन:सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रको गौरवका रुपमा रहेको उद्योगलाई सञ्चालन गरी युवाहरुलाई रोजगारी सिर्जना गर्न आफू लागि पर्ने प्रचण्डको भनाइ छ ।
‘राष्ट्रिय रुपमा नै हामी सबैले गौरव गर्नुपर्ने गोरखकाली रबर उद्योग, त्यत्रो संरचना छ, त्यो यत्तिकै पढिरहेको छ’, उनले भने, ‘त्यसकारण यसलाई नयाँ योजना र नयाँ व्यवस्थापनसहित यसलाई सञ्चालन गरिनेछ ।
रबर उद्योग सञ्चालन गरी यस क्षेत्रका जनताको रोजगारी र संवृद्धिका लागि यसलाई उपयोग गरिने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु ।’
यसरी देशका गौरवका आयोजनालाई पूरा गर्न देशभर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई भोट हाल्नुपर्ने सर्त प्रचण्डले राखेका छन् ।
‘अहिलेको निर्वाचनमा गठबन्धनका पक्षमा सिंगै देशले देख्ने गरी भोट हाल्नुपर्छ, ताकि गोरखा जतासुकै देखियोस्’, उनले भने, ‘गोरखामा यस्तो रेकर्ड बन्यो, संपूर्ण जनता एकढिक्का भयो, देशमा अन्यत्र कतैभन्दा गोरखामा अत्याधिक मत ल्याए भन्ने गोरखाको जीत संसारभर देखाउनुपर्छ ।’ गोरखाको मतदानले एउटा शक्ति, उर्जा प्रदान गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्