गोकर्णेश्वर मन्दीर र बागमती किनारमा भक्तजनको घुइँचो

११ भदौ, काठमाडौं । नेपाल धार्मिक एवं सांस्कृतिक विविधता भएको देश हो। यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन्। विभिन्न धर्म मान्ने मानिस विभिन्न चाडपर्व मनाउँछन्। त्यसमध्ये कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व पनि एक हो।

कुशे औंसीका दिन हिन्दू धर्मावलम्बी वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरघरमा भित्र्याउँछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

frontline

कुशलाई ब्राह्मणको घरबारीमा रोपिएको कुश वर्षको एकपटक शुभ साइत पारेर यसलाई ओखल्ने या काट्ने चलन रहेको धार्मिक शास्त्रमा उल्लेख छ।

नेपाली परम्परामा पिता, माता, गुरुहरूको सम्मान गर्ने विधि छन्। आजकै दिन अर्थात् भाद्र कृष्ण औंसीका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ।

आज बुवा हुने सन्तानले विशेष सम्मानका साथ मिठो मसिनो खान दिने र राम्रो लगाउन दिने प्रचलन रहेको छ। बाबु नहुनेहरूले गोकर्ण आदि तीर्थमा गई मरेका बाबुबाजेका नाममा तर्पण श्राद्ध पिण्डदान गर्ने चलन छ। त्यसैले गोकर्णे औंसी पनि भनिन्छ।

शनिबार गोकर्णेश्वर मन्दीर र बागमती किनारमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि दिवंगत पितृलाई जलदान तथा पिण्डदान गर्नेको भीड लागेको हो। आजका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरे २१ कुलसम्म पितृ तर्छन् भन्ने धार्मिक विश्वास रहेको छ।

यहाँ हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मेला लाग्ने गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here