गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। सर्वोच्च अदालतको आदेशपछि आज मात्रै पुनः नेपाली नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पार्टी सदस्यतादेखि फेरि सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले सरकारमा बसिरहन गृह मन्त्रालय नै पाउनुपर्ने बटम लाइन बनाएको हो।

गृहमन्त्रीमा पुनः लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय भने स्वतन्त्र पार्टीले गरेको छैन। नेपालको संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने व्यवस्था छ।

frontline

संवैधानिक व्यवस्थाअनुसार लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पुनर्बहाली नगरे सत्ताबाट बाहिरिने स्वतन्त्र पार्टीको चेतावनीले बालुवाटारमा हलचल ल्याएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूसँग लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गराउने वा नगराउने विषयमा छलफल गरिरहेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्रीमा बहाली गर्न सकारात्मक रहे पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारमा परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नेपाली नागरिकता प्राप्तिका लागि पुनः गर्नुपर्ने प्रक्रिया पूरा गरी प्रमाणपत्र लिएसँगै लामिछाने आजैबाट पार्टीको जिम्मेवारीमा फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here