गाली सुन्नै परे आफ्नै महानगरवासीको मात्रै सुन्छु : प्रमुख बालेन
३१ जेठ, काठमाडाैँ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको तीन दिने बैठक छाडेको विषयमा स्पष्टीकरण दिएका छन् ।
काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा गाली गरिराख्ने र मौका पाउँदा पनि केही नगर्ने कार्यक्रममा बस्नुको औचित्य नदेखेर कार्यक्रम छाडेको उनले बताएका हुन् ।
एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘मलाई व्यक्तिगतरुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यत्ति हो ।’
उनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरवासीको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन् ।
‘काठमाडौं केवल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो ।
गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ,’ उनले भनेका छन् ।
बैठक तीन दिनका लागि भए पनि प्रमुख बालेन साह र उपप्रमुख सुनीता डंगोल एक दिन मात्र सहभागी भएर सोमवार साँझ फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्