गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल

इजरायली सरकारभित्र मतभेद
समाचार सारांश
- इजरायली वार्ताकारहरूले गाजा युद्ध रोक्न र बन्धक रिहाइका लागि सम्झौताको सम्भावनालाई विचार गरिरहेका छन्।
- अमेरिकी प्रस्ताव अनुसार, अस्थायी युद्धविराम, बन्धक रिहाइ, प्यालेस्टिनी कैदीको रिहाइ, स्थायी युद्धविराम र शान्ति वार्ताको योजना छ।
- प्रधानमन्त्री नेतान्याहूले बन्धक रिहाइ, हमासको गाजा छोड्नुपर्ने र गाजालाई हतियारमुक्त गर्नुपर्ने सर्त राखेका छन्।
तेल अभिभ । गाजा युद्ध रोक्न र सबै बन्धकहरूलाई रिहा गर्न इजरायली वार्ताकारहरूले व्यापक सम्झौताको सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले आइतबार यस्तो बताएको हो ।




कतारको राजधानी दोहामा रहेका वार्ताकारहरू यो काम फत्ते गर्न लागि परेको बताइएको छ । यो वार्ता अमेरिकी विशेष दूत स्टिभ विटकफले दिएको प्रस्तावको आधारमा भइरहेको छ । अमेरिकी प्रस्तावमा पहिले अस्थायी युद्धविराम र केही इजरायली बन्धकहरूको रिहाइको लागि आह्वान गरिएको छ । त्यसपछि प्यालेस्टिनी कैदीहरूलाई क्रमशः रिहा गर्ने, स्थायी युद्धविराम गर्ने र अन्तिम शान्ति वार्ताको लागि मार्ग प्रशस्त गर्ने योजना छ ।
तर नेतान्याहूले यस शान्ति प्रस्तावमा आफ्नो अडान स्पष्ट पार्दै केही सर्तहरू राखेका छन् । युद्धविरामको लागि हरेक सम्भावनामाथि विचार भइरहेको तर यसका लागि पहिले केही सर्तहरूमा सहमति हुनुपर्ने उनले बताएका छन् । आफ्ना सबै बन्धकहरूलाई रिहा नगरिएसम्म कुनै पनि प्रस्तावमा वार्ता नहुने पनि उनले स्पष्ट पारिसकेका छन् ।
उनले अर्को सर्त चाहिँ हमासका आतंककारीहरूले गाजा छोड्नुपर्ने भनेर राखेका छन् । नेतान्याहूले गाजालाई पूर्ण रूपमा हतियारमुक्त गर्नुपर्ने सर्त पनि राखेका छन् । इजरायलले अहिलेसम्म १९७ बन्धकहरूलाई फिर्ता ल्याइसकेको छ र बाँकी ५८ जनालाई रिहा गर्ने प्रयास जारी छ । यी मध्ये ३६ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
यो प्रस्तावलाई लिएर इजरायली सरकार भित्रै मतभेद भएको खबर आइरहेका छन् । यस प्रस्तावमा इजरायली सरकार भित्र कुनै सहमति भएको छैन । राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–ग्भिरले योजनाको विरोध गर्दै हमास पूर्ण रूपमा पराजित नभएसम्म युद्ध रोकिनु नहुने अड्डी कसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्