गभर्नर अधिकारीको राजीनामाको माग गर्दै नेविसंघ र अखिलले घेराउ र विरोध प्रदर्शन गर्ने
१ साउन, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन्।
दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरू केहि दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन्।
आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।
विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने मैनालीले बताए।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना बिभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना शुरु भएको हो।
अधिकारीको नियुक्ति ‘राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरित भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगठनले बिरोध चर्काएका हुन्।
सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतिघरमा प्रदर्शन गरेको छ भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ।
प्रतिक्रिया दिनुहोस्