गगन र विश्वप्रकाशका ‘दाइ’ भण्डारी : कांग्रेसमा लागेको ५० वर्षपछि उपसभापति
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा डा. चन्द्र भण्डारी निर्वाचित भएका छन्।
उपसभापतिमा खुलातर्फ २ पदका लागि ७ जनाबिच भएको प्रतिस्पर्धामा सबैभन्दा बढी मत प्राप्त गर्दै भण्डारी उपसभापतिमा विजयी भएका हुन्।
१४औँ महाधिवेशनमा तत्कालीन शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा पराजित भण्डारीलाई अहिले सफलता मिलेको हो। सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माका ‘दाइ’ भण्डारीको विशेष महाधिवेशनमा भने कित्ता प्रस्ट थिएन।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए पनि कार्यसमितिमा आउन भण्डारीले रुचि देखाएनन्। विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा समापन गर्नुपर्ने भण्डारीको तत्कालीन मत थियो।
उनी गत वैशाखमा मात्र थापा नेतृत्वको कार्यसमितिमा प्रवेश गरेका थिए। १५औँ महाधिवेशनमा विशेष महाधिवेशनकै दबदबा देखिँदा भण्डारीले उपसभापतिमा सर्वाधिक मत ल्याएर जित हात पारे।
कांग्रेसमा सक्रिय राजनीति थालेको ५० वर्षमा भण्डारी नेतृत्व तहमा पुगेका छन्। कांग्रेसको नयाँ विधानमा वरिष्ठसहित ५ उपसभापतिको व्यवस्था गरिएको छ। पार्टी र संसदीय राजनीतिमा थापा र शर्माका ‘दाइ’ भण्डारी उनीहरू नेतृत्वकै पदाधिकारी टिममा समेटिएका छन्।
गुल्मीको छत्रकोटस्थित हुँगामा २०१८ सालमा जन्मिएका भण्डारी किशोरावस्थामै नेपाली कांग्रेसप्रति आकर्षित भए। २०३३ मा कांग्रेसमा सक्रिय भण्डारी २०३६ र २०४६ को आन्दोलनमा सहभागी थिए। पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर पाँच वर्ष उनले जेल जीवन बिताए।
२०४८ मा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य रहे। भण्डारीले २०६४, २०७०, २०७४ र २०७९ र ८२ प्रतिनिधिभा निर्वाचनमा उम्मेदवारी बने।
२०६४ र २०७४ मा एमालेका प्रदीप ज्ञवालीसँग पराजित भए उनले ८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालसँग हार ब्यहोरे। २०७० र २०७९ मा ज्ञवालीलाई पराजित गरेर संसद पुगे पनि मन्त्री बन्ने मौका पाएनन्।
२०७९ मा ग्यास लिक भएर आगलागीमा परी आमा गुमाएको र आफैँ मृत्युको मुखबाट फर्किएका भण्डारी जीवनप्रतिको दृष्टिकोण अझ परिपक्व र जनताप्रति समर्पित बनाएको पाइन्छ।
समाजशास्त्र र मानवशास्त्रमा विद्यावारिधि गरेका भण्डारीमा इतिहास र दर्शनको गहिरो रुचि छ।
पार्टीभित्र लामो समय विपक्षी कित्तामा उभिएर प्रश्न गरिरहेका उनी १५औँ महाधिवेशनबाट जवाफ दिने ठाउँमा पुगेका छन्।






प्रतिक्रिया दिनुहोस्