खेलकुद महासंघले बनायो राष्ट्रिय खेल संघ
२९ फागुन, काठमाडौं । नेपाल खेलकुद महासंघले मातहतका विषयगत खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले विभिन्न २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।
अहिले बनेको परमादेशी सरकार र त्यसका गलत कामको भण्डाफोर गर्न खेलकुद क्षेत्र लाग्नुपर्ने बताउँदै पोखरेलले महासंघले खेल,खेलाडी र सम्पूर्ण खेलकुद क्षेत्रको नेतृत्व गर्न अगाडि बढ्नु पर्ने धारणा राखे ।
त्यस्तै, सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बाँस्कोटाले नेकपा एमालेका अन्य जनसंगठन जस्तो महासंघमा गुटबन्दी र समुहवाजी नभएको बताउँदै अबका दिनमा झन सशक्त र मजबुत भएर पार्टीको मूल सिद्धान्त सफल बनाउन लाग्नुपर्ने धारणा राखेका थिए।
कुनै नेता विशेषको घरदैलो धाउनेभन्दा महासंघका काम र योजनालाई लिएर अगाडी बढे मात्र खेलकुद महासंघको मूल मर्म सफल हुने बताउँदै बाँस्कोटाले पार्टीलाई दबाब र प्रभाव पार्ने खालका योजना र मुद्दा अगाडी सार्न निर्देशनसमेत दिएका थिए ।
महासंघका पूर्व अध्यक्षसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य एवं महासंघका सहईन्चार्जर मेशकुमार पौडेलले खेलाडीहरुलाई समयानुकूल वैज्ञानिक प्रशिक्षणका साथै उनीहरुको भत्ता तथा निवृत्तिभरणका सवाललाई खेलकुद महासंघ र महासंघ अन्तर्गतका राष्ट्रिय खेल संघहरुले मूल मुद्दा बनाउनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै महासंघका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुद महासंघको नीति अनुरुप पहिलो चरणमा २७ वटा खेलका राष्ट्रिय संघ बनाइएको र आवश्यकता अनुसार अन्य खेलक्षेत्रका खेलाडी तथा अफिसियलहरुलाई समेटी थप खेल संघ विस्तार गरिने बताए ।
बस्नेतले महासंघले खेलसम्बन्धी सम्पूर्ण गतिविधि सम्बन्धित खेल संघ मार्फत गरी देशव्यापी रुपमा खेलाडी उत्पादन गर्ने कुरालाई प्राथमिकता दिइने बताए ।
प्रतिक्रिया दिनुहोस्