खाली सिलिण्डर भर्न ग्यास उद्योगीको आग्रह: कोरोनाको असर ग्यासमा पर्ने संकेत
नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ ।
सङ्घले आज एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ ।
नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो ।
आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो । त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो ।
‘विगतको जस्तै समस्या आम उपभोक्ताले व्यहोर्नु नपरोस् भनेर यसपटक बेलैमा सचेत गराइएको हो’, अध्यक्ष भण्डारीले भने । अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए ।
हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग रहेको छ । ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ । उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्