खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र : खोल्सीको पानीले गुजारा गरौंला, एडीबीको ऋण चाहिएन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एडीबीको ऋण नलिने घोषणा गरे।
  • उनले सरकारको योजना अनुसार बाँकी पैसा राष्ट्रिय आम्दानीबाट खर्च गर्न आग्रह गरे।
  • उनले विदेशी ऋणको भार नबोक्न सुझाव दिए।

frontline

१९ असार, विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले एसियाली डेभलभमेन्ट बैंक (एडीबी) बाट ऋण लिएर सप्तकोशी नदीबाट धरानमा खानेपानी नल्याउने बताएका छन् । बिहीबार खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र पठाउँदै उनले एडीबीको ऋणमा सप्तकोशीको पानी नल्याउने बताएका हुन् ।

मेयर साम्पाङले राष्ट्रिय आम्दानीबाट मात्र खर्च गर्न सकेमा योजना अगाडि बढाउन आग्रह गरे । विदेशी ऋणको भारी बोकाउनु देशको हितमा नहुने भन्दै उनले पठाएको पत्रको बोदार्थ प्रधानमन्त्री कार्यालयलाई पनि दिइएको छ ।

सप्तकोशीबाट धरानमा खानेपानी ल्याउनका लागि आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले ४ करोड बजेट विनियोजन गरेको छ । बाँकी रकम एडीबीबाट ल्याउने योजना रहेको सुनेको बताउँदै उनले देशलाई विदेशी ऋणको भारी बोकाउन नहुने उल्लेख गरेका छन् ।

‘३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटी मन्त्रालय धाएको स्मरण गराउँदै आर्थिक वर्ष २०८२/८३ का लागि ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो,’ उनले पठाएको पत्रमा भनिएको छ, ‘तर बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाएर उचित हुँदैन ।’

धरानमा एडीबीकै योजनामा भूमिगत खानेपानी आयोजना पनि सञ्चालन भएको थियो । ‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला,’ उनले भनेका छन्,‘ अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँदछु ।’

हर्क साम्पाङ राई

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here