खडेरीको मारमा किसान, धान सुक्यो खेतमै
४ भदौ, काठमाडौं । रौतहट, सर्लाही, दाङ, लुम्बिनी, धनगढी र प्यूठान — खडेरीको मारमै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएको छैन । पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म पनि केही ठाउँमा रोपाइँ गर्न नपाउँदा ब्याड सुकिसकेको छ । रोपाइँ गरेका खेतमा पनि धाँजा फाटेर धानका बोट पहेँलिन थालेका छन् । बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसानहरू आकाशतिर हेर्दै दिन काटिरहेका छन् ।
रौतहटको चन्द्रपुर–१० का चन्देश्वर चौधरीले साउन १५ मा १० कट्ठा खेतमा धान रोपे । भदौ पहिलो सातासम्म पर्याप्त पानी नपाएपछि उनको खेतमा धानका बोट सुक्न थालेका छन् । सुक्खाले खेतमा फाटेका धाँजा देखेर उनी दिक्क छन् । असारमै सक्नुपर्ने रोपाइँ जेनतेन मध्यसाउनमा गरे पनि पर्याप्त पानी नपरेपछि १० कट्ठामा लगाएको धान सुक्दै गएको छ । ‘खेत पटपटी फुटेर चिरा पर्न थाल्यो,’ उनले भने, ‘नहरको पानी लाग्ने अवस्था छैन । धानै फलेन भने वर्षभरि के खाने ?’
पछिल्ला वर्ष यहाँ मन्सुली, कतर्नी, सावित्री जातका धान लगाउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार रौतहटको ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ३८ हजार १ सय हेक्टरमा धान खेती गरिन्छ । ज्ञान केन्द्रका अधिकृत अशोक सिंहले सुक्खाका कारण यस वर्ष धान उत्पादन प्रभावित हुने बताए । ‘समयमा रोप्न नसकेर निराश बनेका किसान धान सप्रिने बेला पानी नपरेर तनावमा छन्,’ उनले भने, ‘सिँचाइ सुविधा नभएको खेतमा धाँजा फाटेर धान सुक्न थालिसक्यो ।’ धान रोप्न मल अभाव भोगेका किसानलाई यस पटक मौसमले समेत साथ नदिएको अधिकृत सिंहले सुनाए । रोपो सुक्न थालेपछि जिल्लाको उत्तरी भेगका किसानले भने बोरिङ र नहरको पानीले खेत पटाइरहेका छन् । ‘असारमा जसोतसो रोपाइँ सक्यौं,’ कनकपुरका शेख मैनुद्दिनले भने, ‘धानलाई चाहिने गरी पर्याप्त पानी परेकै छैन । यस्तै सुक्खा रहे एक गेडा पनि फल्छजस्तो छैन ।’
सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियाका रवीन्द्र रायको खेतमा यतिबेला पर्याप्त सिँचाइ र मल हाल्नुपर्ने हो । सिँचाइ सुविधा भए पनि उनले खेतमा पानी पुर्याउन सकेका छैनन्, मल त पाउने कुरै भएन । धानले गाँज हाल्ने बेला उनको खेत सुक्खा भएको छ । नहरमा सबै किसानको चाप भएकाले उनको खेतसम्म पानी पुगेको छैन । ‘ढिलो गरी रोपाइँ भयो, त्यसपछि मल पाएनौं, अब फेरि पानी अभावले खेत सुक्न थालेको छ,’ उनले भने ।
सिँचाइ सुविधा नभएको क्षेत्रका किसान आकाशतिर हेरेर बसिरहेका छन् भने सिँचाइ सुविधा भएको क्षेत्रका किसानबीच पानी पटाउने विषयमा दिनहुँजसो विवाद हुँदै आएको छ । स्थानीय रामबाबु यादवले पानी पटाउन रातभर जाग्राम बस्नुपरेको बताए । ‘पानी खेतमा टिक्दै टिक्दैन, आकाशे पानी भइरहेका बेला भरथेग हुन्थ्यो, सम्पूर्ण चाप नहर तथा कुलोमै छ,’ उनले भने, ‘नहरको पानी एकातिरका किसानले पटाउँदै गर्दा अर्कोतिरको खेत सुक्खा हुन थाल्छ, जसले विवाद बढाएको छ ।’ केहीले राति पानी पटाउन थालेका छन् ।
वडाध्यक्ष दिपलाल रायले वर्षा नहुँदा खेतमा पानी पटाउने विषयमा हरेक दिनजसो किसानबीच विवाद भइरहेको बताए । ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सर्लाहीमा यस पटक ९० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । बूढो बीउ, सिँचाइ अभावले ढिला गरी रोपाइँ, मल अभाव तथा पर्याप्त आकाशे वर्षा नहुँदा यस पटक उत्पादनमा ह्रास आउने केन्द्रको अनुमान छ । ‘नब्बे प्रतिशत रोपाइँ भएको छ तर अधिकांश खेतमा पानी अभावले चिरा परेको छ,’ केन्द्र प्रमुख कमलदेव महतोले भने, ‘यस्तो रोपाइँको अर्थ हुँदैन, यसले समग्रमा उत्पादनमा असर देखाउनेछ ।’
पानी नपरेका कारण खेतमै ब्याड सुकिसकेको र रोपेका खेत पनि चिरा परेको दाङको घोराही उपमहानगरपालिका–७ का किसान लालबहादुर चौधरीले बताए । ‘पानी पर्ला भन्दाभन्दै भदौ लागिसक्यो, अब त रोपाइँ गर्दा पनि उब्जनी होलाजस्तो छैन,’ उनले भने, ‘खेतमा चिरा परेको छ । रोपो पहेँलो भइसक्यो ।’
दाङमा ३९ हजार ४ सय हेक्टरमा रोपाइँ हुने गरेकामा हालसम्म ८७ प्रतिशत खेतमा मात्रै धान रोपिएको कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख बुद्धि घिमिरेले बताए । पानी नपरेका कारण १३ प्रतिशत खेत बाँझो भएको र रोपेका खेत पनि चिरा परेको उनले बताए । घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै शान्तिनगर र बबई गाउँपालिकामा पानी नपरेका कारण रोपाइँ नभएको हो । जिल्लाका १० स्थानीय तहमध्ये देउखुरीका लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकामा मात्रै सिँचाइको व्यवस्था छ ।
रूपन्देहीको मायादेवी–४ गुण्डीका किसान राजमंगल कोहारको धान सुकेर पहेँलिने र रोग लागेजस्तो हुन थालेपछि चिन्ता बढेको छ । ‘पानीया नहीं परल तो झुराजाई धानीया,’ उनले भने, ‘अब के खाई मालुम नहीं बा ।’ धान रोप्ने बेलामा पनि पानी पर्खिंदापर्खिंदै ढिला रोपेको उनले बताए । अरू किसानले पम्पसेटमार्फत पानी लगाए पनि आफूले त्यसो गर्न नसकेको उनले सुनाए । गुण्डीकै सुग्रिम बरईले ६ बिघा खेतमा धान रोपे । अहिले मोटर पाइप लगाएर पानी हालिरहेको उनले बताए । ‘पोहोर राम्रो फलेथ्यो, नयाँ धान लगाएको छु,’ उनले भने, ‘यसपालि त बोटै मर्न थालेको छ ।’ सौरभ, चौसठ चौबालीस नामका धान रोपेका उनले विगतमा १३ क्विन्टलभन्दा बढी फलेको सुनाए । पानी हाल्ने मेसिनलगायत सामग्री वडामा आउने भए पनि आफूजस्ता किसानले नपाएको उनले बताए ।
कोटहीमाई–५ का किसान मन्तुप्रसाद मोल ४ बिघा खेतका मालिक हुन् । ‘धान फल्ने आशा छैन, मजदुरीको काम सुरु गरेको छु,’ उनले भने, ‘यो बुढेसकालमा खेतीकै भर बस्दा समस्या भयो ।’ उनले भैरहवास्थित एक पसलमा बोरा सिलाउने काम सुरु गरेको बताए । परिवारका ६ जनाको लालनपालन तथा केटाकेटीको पढाइ खर्च पुर्याएको धान खेती सुक्खा भएपछि भोकमरी लाग्ने चिन्ता बढेको उनले बताए ।
रूपन्देही धानखेतीको उर्वर भूमि हो । जिल्लामा २० वटा साना–ठूला सिँचाइ आयोजना पनि छन् तर ती आयोजनाबाट ६९ हजार २ सय हेक्टरका किसान लाभान्वित हुन सकेका छैनन् । उनीहरूले आकाशे पानीकै भरमा खेती गर्दै आएका छन् । रूपन्देहीमा सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, चौसठ चौबालीस, काला नमक, गोरखनाथ ५०९ लगायत धान खेती हुँदै आएको छ । जिल्लाको उत्तरी, दक्षिण भेगमा खेतीयोग्य जमिन पर्याप्त छ । ती खेतमा पानी नभएपछि धानको टुप्पो पहेँलिन थालेको छ भने खेत पटपट फुटेको छ ।
रूपन्देहीलाई सुक्खा क्षेत्र घोषणा गरी राहत प्याकेज उपलब्ध गराउनुपर्ने सिद्धार्थनगर नगरपालिका–११ सिसवाका किसान मोहम्मद युनुशले बताए । उनले बोरिङ गाड्ने क्षमता नभएका किसानले बढी दुःख पाइरहेको जनाए । ‘महँगो उपकरण खरिद गर्ने पैसा छैन, पालिकाको हामीले पाउँदैनौं,’ उनले भने, ‘सरकारले बोरिङ मेसिन उपलब्ध गराओस् र तेल पनि देओस् ।’
कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका पेरुलाल चौधरीको खेतमा पनि धानका बेर्ना पहेँलिन थालेको छ । ‘अब केही दिनभित्र पनि पानी नपरे बेर्ना नष्ट हुन्छ,’ उनले भने । पानी नपाएको खेतका धानमा रोग लाग्ने अवस्था भएको चौधरीले बताए । सिँचाइ सुविधाबाट वञ्चित कैलालीका ६० प्रतिशत किसान यही अवस्थामा छन् । नहर तथा कुलोको सिँचाइ सुविधा ३० प्रतिशत र डिप बोरिङलगायत अन्य मेसिनरी प्रयोगबाट खेत सिँचाइ गर्ने किसान १० प्रतिशत जति छन् । ‘पैसा हुनेले बोरिङ र मोटरबाट पानी तानेर सिँचाइ गरिरहेका छन्,’ उनले भने, ‘नहुनेको खेतमा चिरा परेको छ । धानमा रोग देखिन थालेको छ ।’
यो वर्ष पर्याप्त वर्षा नहुँदा धानबाली सप्रिन नपाएको धनगढीकै कैलाली गाउँका देवुराम डगौरा थारूको भनाइ छ । ‘हुर्कने बेलामा आकाशेपानी नै चाहिन्छ,’ उनले भने, ‘असार र साउनमा १० दिनजति पनि पानी परेन ।’ धानमा गाँजा लाग्ने र पसाउने समयमा आकाशेपानी चाहिने उनले बताए । ‘असारतिर रोपाइँ गरेकाको धान फुल्ने समय भएको छ,’ देवुरामले भने, ‘साउन दोस्रो सातासम्म रोपेकाको धानमा गाँज लाग्ने बेला भएको छ ।’
कैलारी गाउँपालिकाका कुलदेव चौधरीले कैलारीको मोहना किनारका किसानलाई बढी वर्षा हुँदा बाढी लाग्ने र वर्षा नहुँदा खेत सुक्ने चिन्ता रहेको बताए । ‘अहिले पटक्कै वर्षा भएको छैन, धानमा रोग लाग्न थालेको छ,’ उनले भने, ‘मोहनाकिनारका हामीलाई पानी नपरे पनि चिन्ता, वर्ष धैरै भए धानै बगाउने डर हुन्छ ।’
पश्चिम नेपालमा यो वर्ष ढिलो मनसुन सक्रिय भएको थियो । कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक सिंगल चौधरीका अनुसार यस पटक असारदेखि साउन ३१ सम्म कैलालीमा ७ सय ४९ मिलिमिटर मात्रै वर्षा भएको छ । गत वर्षको यो अवधिमा १ हजार ३ सय ८० मिलिमिटर वर्षा भएको थियो । यहाँ असार १५ देखि सामान्य वर्षा हुन सुरु भएको थियो । पर्याप्त पानी नपर्दा केही किसानले पूरा रोपाइँ गर्नै पाएका छैनन् ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा ६८ हजार हेक्टरमा धानखेती भएको छ । अघिल्ला वर्ष ७२ हजार हेक्टरसम्म धानबाली लगाइन्थ्यो । ज्ञान केन्द्र प्रमुख खगेन्द्र शर्माले पर्याप्त पानी नपर्दा केही प्रतिशत धान उत्पादन घट्न सक्ने बताए । ‘धानबालीलाई चाहिएको बेला पानी परेको छैन,’ उनले भने, ‘यसको असर उत्पादकत्वमा पर्छ ।’
रोगले अर्को चिन्ता
प्यूठान नगरपालिका–८ खर्पेङखोलाकी राधा केसीले ४० मुरी धान फल्ने खेतमा स्थानीय बजारबाट बीउ ल्याएर धान रोपेकी थिइन् । राम्रो उत्पादन हुने झिमरुक फाँटमा अहिले उनको धान कामै नलाग्ने गरी नष्ट भएको छ । धान पसाउने बेला रोग लागेको उनले बताइन् । ‘तलमाथि गर्ने सबैले के भएर यस्तो भएको होला भनेर हेर्छन्, आफ्नो मन खेतको धान हेरेर भक्कानिन्छ,’ उनले भनिन्, ‘धान खेती गर्न थालेको यतिका वर्षसम्म यस्तो कहिल्यै भएको थिएन ।’ रोग लागेर पातबाट सुक्दै गएको उनले सुनाइन् ।
पसाउने बेलाको धान रोगले नष्ट गरेपछि यतिबेला किसानलाई भोक न प्यास बनाएको छ । ‘धान हेर्दा रातभर निद्रा लाग्दैन, खेतमा जान पनि मनले मान्दैन,’ प्यूठान–१ खैराका किसान भोजबहादुर जीसीले भने, ‘धानमा रोग लागेपछि खेतमा गएकै छैन ।’ प्राविधिकको टोलीले यस्तो धान नफल्ने सल्लाह दिएको छ । खैरा फाँटका सबै किसानको खेतमा उस्तै समस्या देखिएको छ । अलिअलि सग्लो धान हुनेले पनि अब रोगले सक्छ भनेर हेरचाह गर्न छाडेका छन् । धानको पातमा काला थोप्ला देखा पर्ने, गाँज सुक्ने र बिस्तारै बोट नै टुक्रिँदै जाने समस्या देखिएको किसानहरू बताउँछन् ।
अघिल्लै वर्षदेखि धानमा रोग लाग्ने समस्या सुरु भएको हो । खैरे थोप्ले रोग, फेद कुहिने, गवारो किरा र जिंकको कमीजस्ता समस्या धानमा देखिएको किसानले बताए । झिमरुक फाँटका सबै खेतमा यो समस्या देखिएको छ । १२ सय हेक्टरको धान खेतीमा रोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताए । उनका अनुसार खेतमा ६ प्रकारका रोग देखिएको छ । ‘प्यूठानको बर्खे धानमा रोगको समस्या छ, फाँटमा गएर पनि अनुगमन र परीक्षण गरेर हेर्यौं,’ उनले भने, ‘हाम्रो पहुँचले सक्ने गर्यौं, थप उपचारका लागि विभिन्न निकायसँग पनि समन्वय गरेर काम गरिरहेका छौं ।’
ठूलो क्षेत्रफलमा धान खेतमा समस्या देखिएपछि प्यूठानमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषासँग समन्वय गरेर काम भइरहेको छ । नार्क र धानबाली अनुसन्धान कार्यक्रमका विशेषज्ञसहितको टोली प्यूठान आएर यसको जाँच गरेको प्रमुख गिरीले बताए । अघिल्लो वर्ष पनि केही क्षेत्रमा धानमा रोग देखिएको थियो तर यस वर्ष धेरै क्षेत्रमा लागेको छ ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथको तीन जनाको समूह अहिले प्यूठानका किसानको खेतमै पुगेर रोगको पहिचानमा लागेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आग्रहमा आफूहरू प्यूठान आएको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ किटविज्ञ मोहम्मद फरज अलिले बताए । खेतहरूको निरीक्षण गर्दा पहिलो समस्या बीउमै छ, जथाभावी बीउ प्रयोगले समस्या देखिएको अनुमान छ । बीउको स्रोतको पहिचान र किसानलाई जानकारी नहुँदा पनि समस्या भएको बताए । ‘खेतमा पुगेर हेर्दा धान सुक्दै गएको, जलेको जस्तो देखिएको छ,’ उनले भने, ‘धान रोपेदेखिकै समस्या हो ।’
धानमा सेतो झिंगाको पनि समस्या छ । उनका अनुसार अहिलेसम्म प्यूठानमा केही क्षेत्रमा धान प्रयोग नै गर्न नमिल्ने र उत्पादन नै नदिने गरी नष्ट भएको छ । धानलाई आवश्यक पर्ने पानी पनि यस वर्ष पर्याप्त नपरेको कारणले पनि धानमा रोगको प्रकोप बढी देखिएको उनको दाबी छ ।






प्रतिक्रिया दिनुहोस्