कोरोना रोकथाममा सक्रिय महालक्ष्मी नगरपालिका
फ्रन्टलाइन पालिका । पूरै मुलुकलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन ललितपुरको महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ। जनचेतना जगाउने क्रममा नगरका १० वटै वडामा नगरपालिकाले प्रचारप्रसार सुरु गरेको छ। नयाँ भेरिएन्टको कोरोना भाइरस थप जोखिमपुर्ण भएकाले नगरवासीलाई सावधानी अपनाउन आग्रह गर्दै माइकिङ गर्न थालिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाको विशेष पहलमा किष्ट हस्पिटलमा चलाइएको खोप अभियान कार्यलाई पीएसजीमा समेत सञ्चालनमा ल्याइएको छ । नगरपालिकाभित्र ३० बेड क्षमताको अक्सिजनसहितको युनिट स्थापनाको कार्य अगाडि बढाइएको छ । त्यसलाई ५० बेड क्षमतामा विस्तार गर्न टेक एन्ड केयर हस्पिटलसँग सहकार्य गरी केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरप्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाभित्र कोही संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन छुट्टै एम्बुलेन्सकोसमेत व्यवस्था गरिएको छ । नगरपालिकाका १० वटै वडामा रहेका कोरोना संक्रमितहरूका लागि यो सेवा उपलब्ध गराइएको छ । नगरपालिकाले सबै वडामा एक–एक स्वास्थ्यकर्मीसमेत खटाएको छ । नगरपालिकाले न्युन आर्थिक अवस्था भएका नगरवासीहरूलाई रोजगारी दिने र नगरपालिकाभित्र कसैले पनि भोकै रहनु नपरोस् भनेर खाद्यान्नको समेत व्यवस्थापन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्