कोरोनाको मारमा दक्षिणपूर्वी एसिया
काठमाडौं । गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको दोस्रो लहर उच्च विन्दुको तुलनामा दक्षिणपूर्वी एसियामा कोरोनाको मृत्युदर धेरै भइसकेको छ ।
दक्षिणपूर्वी एसियामा डेल्टा भेरियन्टको कारण निकै तीव्र गतिमा संक्रमण फैलिरहेको छ । यो क्षेत्रमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जसको कारण यी क्षेत्रका मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यो क्षेत्रका केही मुलुकले कोरोना नियन्त्रणको लागि तोकिएको मापदण्डहरु पनि पालना गराउन सकेका छैनन् ।
दक्षिणपूर्वी एसियाको मुलुक इन्डोनेसियाले कोरोनाको संक्रमण बढेसँगै मुलुकमा उत्पादन हुने समग्र अक्सिजन मेडिकल प्रयोगको लागि खपत गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजनको माग पनि ह्वात्तै बढेको छ ।
त्यस्तै मलेसियाका अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने अवस्था आएको छ । म्यानमारको सबैभन्दा ठूलो सहरमा चिहानमा काम गर्ने कर्मचारी अहिले निकै व्यस्त देखिएका छन् भने चिहानमा चाप बढेसँगै दिनरात नभनी चिहान खन्नुपर्ने अवस्था आएको छ ।
गत जुन १७ मा मलेसियाको सेलाङगोर राज्यका एरिक लाम कोरोनाबाट संक्रमित भए र अस्पतालमा भर्ना भए । उनी सरकारी अस्पतालमा पुग्दा वार्डमा कुनै बेड खाली थिएनन् । अस्पतालका प्यासेज बिरामीले भरिएका थिए । यद्यपि सेलाङगोरको अन्य अस्पतालसँग तुलना गर्ने हो भने उक्त अस्पतालको अवस्था राम्रो हो ।
मलेसियाको सबैभन्दा सम्पन्न र धेरै जनसंख्या रहेको यो राज्यका कुनै पनि अस्पतालमा बेड खाली थिएनन् र धेरै बिरामीको उपचार स्ट्रेचर वा भुइँमा नै राखेर गराउनुपरेको थियो । सरकारले कोरोना संक्रमण बढेपछि अस्पतालका बेडहरु थप्दै कोरोना संक्रमितको लागि थप वार्डहरु निर्माण गरेको छ ।
३८ वर्षीय लाम तीन साता अस्पतालमा बस्दा उनले आफ्नै आँखाअघि बिरामीहरुको मृत्यु भइरहेको देखे ।
पछिल्लो समय दक्षिणपूर्वी एसियामा कोरोना संक्रमण बढ्नुमा धेरै कारकले भूमिका खेलेका छन् । जसमा महामारी नियन्त्रणको लागि लगाइएको मापदण्डबाट मानिसहरु दिक्क हुनु, सावधानी नअपनाउनु, खोप अभियान निकै सुस्त चल्नु र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण देखिनुजस्ता कारक रहेको मलेसियास्थित रेडक्रस एसिया–प्यासिफिक इमर्जेन्सी हेल्थ कोर्डिनेटर अभिषेक रिमाल बताउँछन् ।
‘सरकारले तय गरेको हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र खोप लगाउनेजस्ता आधारभूत मापदण्ड पालना गर्ने हो भने अबको दुई साताभित्र हामीले कोरोना संक्रमणमा उल्लेख्य कमी आएको देख्न सक्छौं’, उनले भने ।
मलेसियाले कोरोना नियन्त्रणको लागि लकडाउन गरे पनि संक्रमणमा भने कमी देखिएको छैन । तीन करोड २० लाखभन्दा धेरै जनसंख्या रहेको यो मुलुकमा जुलाई १३ मा पहिलोपटक १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । त्यसयता दैनिक नयाँ संक्रमितको संख्या त्योभन्दा तल झरेको छैन ।
मलेसियामा कोरोना खोप लगाउनेको संख्या पनि निकै कम छ तर यो संख्या बढ्ने क्रम भने जारी छ । करिब १५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाइसकेका छन् । सरकारले यस वर्षको अन्तिमसम्ममा अधिकांश मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
अहिले व्यापक मात्रामा कोरोना संक्रमण बढेसँगै मलेसियाको अस्पतालका डाक्टर र नर्सले दिनरात नभनी काम गरिरहेका छन् । उनीहरुले आफ्नो तर्फबाट अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । उक्त प्रयासको कारण मृत्युको मुखबाट फर्किएकामध्ये लाम पनि एक हुन् । उनको अवस्था बिग्रिएसँगै उनलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिएको थियो र बिस्तारै उनको अवस्थामा सुधार आयो । उनी दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए ।
तर, लामले कोरोना संक्रमणको कारण आफ्ना बाबु र भिनाजुलाई भने गुमाउनुपर्यो । उनका एक भाइ अहिले पनि आईसीयू र भेन्टिलेटरमा छन् । ‘मलाई दोस्रो जन्म पाएको र बाँच्नका लागि दोस्रो मौका पाएको महसुस भइरहेको छ’, उनले भने ।
एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ । बुधबार यी तीन मुलुकमा प्रति १० लाखमा क्रमशः ४.३७, ४.२९ र ४.१४ जनाको मृत्यु भएको थियो ।
कम्बोडिया र थाइल्याण्डमा पनि कोरोनाका नयाँ संक्रमित र मृतकसंख्यामा उल्लेख्य वृद्धि भएको छ । यद्यपि यी दुई मुलुकमा भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको दर कम छ ।
भारतमा फैलिएको कोरोना संक्रमणबाट पाठ सिकेर अधिकांश मुलुकले तुलनात्मकरुपमा छिटै नै लकडाउन गरी कोरोना संक्रमणलाई तीव्र गतिमा फैलिन नदिने प्रयास गरिरहेको र कोरोना संक्रमणसँगै अस्पतालमा पनि बिरामीको आवश्यकताअनुसारको व्यवस्था गर्ने प्रयास गरिरहेको रिमाल बताउँछन् ।
‘यो क्षेत्रका मानिसहरु निकै सचेत छन् किनकी उनीहरुको आँखा अगाडि नै भारतमा दैनिक चार लाख नयाँ संक्रमित फेला परेका थिए र उनीहरुले वास्तवमा नै त्यो अवस्था दोहोरियोस् भन्ने चाहँदैनन्’, रिमालले भने ।
तर, जनस्वास्थ्यको मापदण्ड लगाइएसँगै त्यसले काम गर्न भने केही समय लाग्छ । अहिले यो क्षेत्रका मुलुकहरु संक्रमण नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।
विश्वको चौथो धेरै जनसंख्या भएको इन्डोनेसियामा बिहीबार एकैदिन १ हजार ४४९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । कोरोना महामारी सुरु भएसँगै इन्डोनेसियामा एकै दिन यो महामारीको कारण सबैभन्दा धेरैको मृत्यु भएको हो ।
गत जुनको मध्यमा करिब आठ हजारको हाराहारीमा रहेको दैनिक नयाँ संक्रमितको संख्या पनि गत साता ५० हजारभन्दा धेरै थियो । इन्डोनेसियाको परीक्षणको दर सीमित रहेकाले वास्तविक संक्रमितको संख्या धेरै हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।
कोरोना संक्रमण बढेसँगै सरकारले मुलुकमा उत्पादन हुने अधिकांश अक्सिजन मेडिकल प्रयोगको लागि पठाएको छ । यो संकट सुरु हुनुभन्दा पहिला मेडिकल प्रयोगको लागि दैनिक ४ सय टन अक्सिजन मेडिकल प्रयोगको लागि आवश्यक पथ्र्यो तर कोरोनाका संक्रमण उल्लेख्य संख्यामा बढेसँगै मेडिकल प्रयोगको लागि आवश्यक अक्सिजन पाँच गुणा बढेर दुई हजार टन पुगेको थियो ।
इन्डोनेसियामा अक्सिजन उत्पादनमा कुनै किसिमको समस्या नभए पनि आपूर्तिमा देखिएको समस्याको कारण अहिले पनि केही अस्पतालमा अक्सिजनको अभाव देखिइरहेको छ । इन्डोनेसियामा अहिलेसम्म करिब १४ प्रतिसत मानिसले कम्तीमा एक डोज कोरोना खोप लिएका छन् ।
म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको विरोधमा भएको प्रदर्शनले मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त बन्यो । पछिल्लो केही सातामा मात्र कोरोनाको परीक्षण तथा गणनाको कार्यले पुनः गति लिन थालेको छ । म्यानमारमा गत मेको मध्यदेखि कोरोनाको नयाँ लहर देखिएको छ । साथै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्यरुपमा वृद्धि भइरहेको छ ।
जुलाईको सुरुदेखि मृत्युदर निकै उच्च गतिमा बढेको छ । साथै म्यानमारको सेनाले कोरोनाका संक्रमित तथा मृतकको संख्या गम्भीररुपमा लुकाएको आशंका छ । यसअघि नै नाजुक बनेको स्वास्थ्य प्रणाली, निकै कम परीक्षण, अक्सिजन तथा अन्य मेडिकल सामग्रीको अभावलगायत कारण आगामी सातामा म्यानमारको अवस्था निकै खराब हुन सक्ने क्षेत्रीय मानवअधिकारवादी समूहले बताएको छ ।
त्यस्तै अधिकांश मानिसहरुमा सेनाको सरकारमाथिको विश्वास निकै कम हुनुले पनि समस्या बढाएको छ । बिहीबार म्यानमारको सरकारले ६७ सय नयाँ संक्रमित देखिएको र संक्रमणको कारण ३१९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । खोप लगाएका मानिसको पनि यकिन तथ्यांक छैन । उपलब्ध खोपको आधारमा करिब ३ प्रतिशत मानिसले पूरा डोज कोरोना खोप लगाएको अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गर्दै मुलुकको सबैभन्दा ठूलो सहर यान्गुनको चिहानले आएका शव धान्न नसक्ने अवस्था आएको बताएका छन् । अधिकारीहरुले भने सामाजिक सञ्जालको दाबी अस्वीकार गर्दै आएका छन् । यद्यपि उनीहरुले धेरै मानिसहरुको मृत्यु घरमा नै हुने गरेको स्वीकार गरेका थिए ।
म्यानमारको चिहानहरुको व्यवस्थापन हेर्ने विभागका प्रमुख चो टुङ औङले सेनाले चलाएको टेलिभिजनमा बोल्दै सोमबार यान्गुनका प्रमुख सात चिहानमा ३५० जना कर्मचारीहरुले जुलाई ८ देखि तीन सिफ्ट काम गरिरहेको बताएका थिए ।
उनका अनुसार आइतबार कर्मचारीहरुले १२ सयभन्दा धेरै शव व्यवस्थापन गरेका थिए । उनीहरुमध्ये १ हजार ६५ जनाको मृत्यु कोरोना संक्रमणको कारण उनीहरुको आफ्नै घरमा भएको थियो भने १६९ जनाको मृत्यु अस्पतालमा भएको थियो ।
–एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया दिनुहोस्