कोरियामा कोभिडबाट ज्यान गुमाउनेको संख्यामा बृदि, एकैदिन ७१ जनाको मृत्यु
१४ भदौ, सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या अप्रत्यासित रूपमा बढेको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा ११ जनाको मृत्यु भएको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको संख्या लगातार घटेको छ ।
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार २०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ ।
सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् ।
हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको संख्या दुई करोड ३१ लाख ४२ हजार ४७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्