केही नेपाली विद्यार्थीहरू परिवारबाट सम्पर्कविहीन भएको रसियास्थित नेपाली दूतावासको दाबी
२८ भदौ, काठमाडौं । रसियाको नेपाली दूतावासले केही नेपाली विद्यार्थीहरू परिवारबाट सम्पर्कविहीन भएको दाबी गरेको छ। ती विद्यार्थीका परिवारले आफ्ना छोराछोरी खोजिदिनका लागि दूतावासमा सम्पर्क गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दूतावासले पछिल्लो समय नेपाली विद्यार्थीको आगमन बढेको जनाएको छ। रसियाबाट सजिलै युरोप जान सकिने लगायतका प्रलोभनमा परी रसिया आउने विद्यार्थीहरू परामर्श केन्द्रहरूले कबुल गरेबमोजिमको अवसर नरहेको र भाषागत समस्याका कारण मार पर्ने गरेको दूतावासले जनाएको छ।
‘रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट यस राजदूतावासमा प्राप्त भएको छ। नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरूमार्फत् स्टुडेन्ट भिसामा रसिया आउने नेपालीहरूले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको’, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’लगायतका विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकीसमेत कष्टकर रहेकाले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै यस राजदूतावासमा सम्पर्क गर्ने गरेका छन्। तिनैमध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भई आएको छ,’ मंगलबार विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ, ‘रूसी महासंघका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई यहाँ यथेष्ट अवसर रहेका छन्। तर, भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ। अत स्टुडेन्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन-प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौँ।’
प्रतिक्रिया दिनुहोस्