कुलेखानी खोलामा बाँध बनाइ दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याइने योजना
८ असार, काठमाडौं । सरकारले उपत्यकाको बढ्दो खानेपानीको मागलाइ ध्यानमा राख्दै कुलेखानी खोलामा बाँध बनाइ दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गरेर पानी ल्याउने योजना सुनाएका हुन्। यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पूर्वसम्भाव्यता अध्ययन गरेको हो।
मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी उपत्यकामा दैनिक करिब १५ करोड लिटर वितरण गर्न सकिने बताएका छन्।
उनले कुलेखानीको पानी दीर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौं लैजाने र अल्पकालिन रुपमा दुइ वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताए।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त भएको बताए।
उनका अनुसार उक्त स्थानमा बाँध बनाउँदा वातावरणीय प्रभाव न्यून रहेको र थोरै समुदाय मात्र प्रभावित हुनेछन् । पाइपलाइ विस्तार गर्न काठमाडौं-तराइ-मधेश द्रूतमार्गको किनारा प्रयोग गर्न सकिनेछ।
काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र वाग्मती नदीनजिक रहेको प्रस्तावित बाँधस्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ।
बागमती नदीभन्दा करिब २ सय मिटर पश्चिमतर्फ सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाइ तीन सय ४० मिटर र उचाइ ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए।
बाँधस्थलमा जम्मा भएको पानीलाइ करिब २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडामा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाइने उनले बताए।
प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधिन द्रुतमार्गमा करिब १९ किलोमिटर उत्तरतर्फ पाइपलाइन विच्छ्याइ ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाइमा रहेको सैंबु पानी पोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ।
बाँध निर्माण गर्ने स्थलले ८२ वर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ।
सरकारले काठमाडौं उपत्यकाको द्रुत गतिमा बढ्दै गएको जनसङ्ख्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालका लागि अल्पकालिन योजना अनुसार २ वर्षभित्रै लिफ्टिङ गरी पानी काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताए।
अल्पकालिन रुपमा पम्पिङ गरी दैनिक ६ देखि ७ करोड लिटरसम्म पानी काठमार्डाैं पठाउन सकिने अनुमान गरिएको छ।
यस्तै, दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिब २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बार्डका कार्यकारी निर्देशक राणाले बताए ।
बाँध निर्माण गरी आयोजना संचालनलाइ पूर्णता दिन करिब ६ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन्।
आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालिन आयोजना संचालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए।
आयोजनाको बाँध मात्र निर्माण गर्न करिब १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारका लागि एक अर्ब पानी प्रशोधन केन्द्र निर्माणवको लागि करिब ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्