कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण

९ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई संघीय निजामती विधेयकबारे आफ्ना सांसदहरूको संशोधन प्रस्ताव स्वतन्त्र रुपले राखेका बताएको छ ।

राष्ट्रिय सभामा रहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसबारेमा संसद्मा बहस भइरहेको छ ।

frontline

कांग्रेसको जिज्ञासामा आफ्ना सांसदहरू संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा एमालेले बताएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले कांग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरूको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरू स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए ।

‘उहाँहरूको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरूले आफ्नो ढंगले संशोधन प्रस्ताव राखे । सांसदहरू स्वतन्त्र हुन्छन् । आफ्ना संशोधनहरू राख्न स्वतन्त्र हुन्छन्,’ घिमिरेले भने ।

सरकारले ल्याएकै भूमि ऐनमा पनि कांग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उनले बताए ।

‘भूमि ऐनमा हाम्रा १०/१२ जना सांसदहरूले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ,’ उनले भने ।

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए ।

कुलिङ पिरियड |नेपाली कांग्रेस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here