कुलमानलाई किचकिच गरेर सरकारले गलत गर्दैछ : कांग्रेस महामन्त्री थापा

३, ४ महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिलाई किचकिच गरिरहनु ढंग नपुगेको हो वा बेइमानी हो भन्दै कांग्रेस महामन्त्री थापाले सरकारको आलोचना गरेका छन् ।
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारका कामको आलोचना गरेका छन् । गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको भन्दै महामन्त्री थापाले आलोचना गरेका हुन् ।




उनले सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै कुलमानलाई किचकिच किचिकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए ।
सरकारलाई सुझाव दिँदै भने, ‘५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । कि राम्रो गर्नुस्, राम्रो नसके कम्तीमा नरोम्रो काम नगर्नुस् ।’
तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ ।
‘ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरण छ । त्यसका प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण हामी सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि बेढंग हो,’ उनले भने, ‘ती व्यक्ति ३, ४ महिनापछि सेवा निवृत्त हुँदैछन् । सेवा निवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने । तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ । किचकिच किचकिच गरिरहेको देखिन्छ । यस्तो ठीक हुँदैन । उपयुक्त हुँदैन ।’
महामन्त्री थापाले यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु नहुने बताए । ऊर्जा मन्त्रालय उनकै पार्टीका सांसद दीपक खड्काले नेतृत्व गरिरहेका छन् ।
मन्त्रीहरू नचाहिने काममा लागे त्यसलाई प्रधानमन्त्रीले रोक्नु पर्ने भन्दै थापाले प्रधानमन्त्रीलाई सुझावसमेत दिए ।
‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि उसैले पाउँछ, नरोम्रो कामको अपजस पनि लिनुपर्छ,’ थापाले भने ।
प्रतिक्रिया दिनुहोस्