कुटाइबाट चेपाङ युवकको मृत्यु : सैनिकलाई जन्मकैदको फैसला

९ फागुन, काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो ।

frontline

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका हुद्दा चिरण कुमार बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेका थिए ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो ।

त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भिर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कुटपिट गरेको भनी जाहेरी दिएका थिए ।

त्यही मुद्दामा जिल्ला अदालतले भवितव्य भएको भन्दै चिरण कुमार बुढालाई ९ महिना कैद सजाय र ९ हजार जरिवाना गरेको थियो ।

साथै मृतकका बाबुलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनुपर्ने भनी फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here