कुटपिट गरेको ७२ दिनपछि किशोरको मृत्यु

१ पुस, विराटनगर । मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीका एकजना किशोरको एकै परिवारका दाजुभाइ मिलेर कुटपिट गरेको ७२ दिनपछि बिहीबार मृत्यु भएको छ ।

कुटपिटका कारण १७ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। उनका अनुसार सञ्जयलाई केराबारी–९ का ३२ वर्षीय यज्ञ परियार र २५ वर्षीय सुजन परियार मिलेर गत असोज १८ गते कुटपिट गरेका थिए।

frontline

यज्ञ र सुजन एउटै परिवारका दाजु–भाइ हुन् । कुटपिटबाट घाइते भएका सञ्जयको उपचार मोरङको विराट चोकस्थित सुकुना सामुदायिक अस्पताल र विराटनगरको कोसी अस्पतालमा गराइएको थियो ।

उपचारपछि डिस्चार्ज भएर घर गएका उनको बिहीबार बिहान मृत्यु भएको जानकारी एसपी जीसीले दिए । उनका अनुसार दसैंको समयमा डाइस (लंगुर–बुर्जा) खेलाएको विषयमा विवाद हुँदा सुजन र यज्ञ मिलेर सञ्जयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसअघि गाउँमै मिलापत्र गरेर घटना मिलाइएको थियो । सञ्जयलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या पनि रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जीसीले बताए ।

उनका अनुसार घटनामा संलग्न दुवै जनालाई पक्राउ गरिसकिएको छ । पक्राउ परेकाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here