कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस, कृष्णमान पहिलो नम्बरमा
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।
नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।
पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान वर्तमान नगर सभापति हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् । दोस्रो नम्बरमा सिफारिस भएका बद्रीलाल नगरका पूर्वसभापति र पुराना नेता हुन् ।
मेयरको टिकटका आकांक्षी हिमाल कार्कीको नाम तेस्रो स्थानमा राखेर सिफारिस गरिएको छ । काठमाडौं पार्टी जिल्ला सदस्य रहेका कार्की काठमाडौं–१० का प्रतिनिधि सभाका सांसद राजन केसी निकट छन् । निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको चौथो नम्बरमा सिफारिस गरिएको छ । पेशाले अधिवक्ता जमुना राजनीतिमा कम क्रियाशील छिन् ।
नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक तहले एक जना महिलाको नाम अनिवार्य राखेर बढीमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।
तर, पार्टी संरचनामा उक्त विधि लागु गरिएको हुँदैन । ‘जसले टिकट पाउँछ, उसलाई एकजुट भएर सबैले सहयोग गर्ने कुरा भएको छ ।
सकेसम्म सर्वसम्मतिको प्रयास गरें’, नगर सभापति डंगोलले अनलाइनखबरसँग भने, ‘पार्टीमा लगाव, निरन्तरता, योगदानको आधारमा पार्टीले निर्णय गर्छ ।’
कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ ।
प्रतिक्रिया दिनुहोस्