काभ्रे दुर्घटना अपडेट : आफन्त नभएपछि ८ जनाको शव अस्पतालमै
२८ मङ्सिर, काभ्रे । बनेपा नगरपालिका- ११ सल्लेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाको शव परिवारले बुझेका छन्।
८ जनाको शव भने अस्पतालमै छन् । आफन्त नभएपछि ८ जनाको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
८ जना एकै परिवारका सदस्य हुन्। उनीहरूको शवलाई धुलिखेल असपतालको शव गृहमा राखिएको छ । मृत्यु भएका १७ जनाकै पोष्टमार्टम गरेर ९ जनाको शव परिवारले बुझेर धार्मिक संस्कार अनुसार दाह संस्कार भएको र ८ जनाको शव बुझ्ने आफन्त नहुँदा अस्पतालमै राख्नुपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए।
शवका परिवार विदेशमा रहेको जानकारी आएकाले आफन्त आएपछि परिवारलाई शव जिम्मा लगाइने जोशीले बताए। उनले भने, ‘आठ शव परिवारले बुझ्न बाँकी छ, अन्य ९ जनाको शवलाई परिवारको जिम्मा लगाएका छौँ ।
सानो नानी र परिवारको कान्छो छोराको उपचार भईरहेको छ। एकै परिवारका ८ जना दुर्घटनामा परेका रहेछन्। एक सदस्य विदेशमा भएको जानकारी आएको छ। उहाँ आएपछि शव जिम्मा लगाउँछौँ।’
आठ जना एकै परिवार सदस्य
दुर्घटनामा बनेपा नगरपालिका वडा नं ११ सल्लेको एकै परिवारका ८ जनाको मृत्यु भएको छ । सल्ले गाउँको ७९ वर्षीया निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २७ वर्षीया कोपीला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन् । उनीहरू सबै एकै परिवारका हुन् । उनीहरूकै घरका दुई जनाको उपचार हुँदैछ।
दुर्घटनामा २२ जना घाइते भएका थिए। २ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । अहिले ८ जनाको बनेपास्थित शिरमेमोरियल अस्पतालमा, ९ जनाको धुलिखेल अस्पतालमा र ३ जना काठमाडौंमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्