कानुनमन्त्री केदार कार्कीको विवादास्पद एवं आपत्तिजनक अभिव्यक्तिको पत्रकार महासंघद्वारा विरोध

२९ असार, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको विवादास्पद एवं आपत्तिजनक अभिव्यक्तिको विरोध गरेको छ।

महासंघका मोरङ सचिव नेत्र पी अधिकारीद्धारा बुधबार जारी विज्ञप्तिमा पदीय मर्यादा बिर्सिएर मन्त्रीले अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

frontline

‘कार्कीले समाचार लेख्ने पत्रकारले बलात्कार गर्यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ? भनेर धम्कीपूर्ण भाषाको प्रयोग गर्दै पूर्ण प्रेस स्वतन्त्रता विरोधी, अमर्यादित, अशिष्ट अभिव्यक्ति दिएको महासंघले ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्तिले आमपत्रकारको आत्मसम्मानमा चोट पुर्याएको छ।’

समाचारमा आएका विषयहरुप्रति असहमति राख्ने, खण्डन गर्ने, उजुरी गर्ने कानुनी बाटो हुँदाहुँदै समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धम्की दिनुले विधिको शासनको उपहास भएको महासंघको ठहर छ।

विराटनगर– १२ मा सुकुम्बासी बस्ती निर्माणका लागि प्रदेश सरकारबाट आएको बजेट विराटनगर महानगरपालिकाबाट सम्झौता हुन नसकेको विषयमा आएका समाचारको सन्दर्भलाई लिएर दिएको अभिव्यक्तिको गम्भीर आत्मसमीक्षा गर्नका लागि महासंघले मन्त्री कार्कीको ध्यानाकर्षण गराएको छ।

एक अनलाइनसँगको अन्तरवार्तामा मन्त्री कार्कीले आफ्ना विरुद्ध समाचार लेख्ने पत्रकारले बलात्कार गर्यो भनेर भनिदिने र त्यस्ता पत्रकारलाई बलात्कारको आरोप लगाउने  विवादास्पद एवं आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

अभिव्यक्तिको पत्रकारसम्वद संघ संगठनले पनि विरोध जनाएका छन्। प्रेस चौतारी मोरङ, प्रेस सेन्टर मोरङ, प्रेस युनियन र समाजवादी प्रेस संगठन मोरङले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै माफी माग्न आग्रह गरेका छन्।   

विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेकै आधारमा धम्कीपूर्ण भाषा प्रयोग गरेर पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघ र अन्य संगठनहरुले मन्त्री कार्कीले आत्मसमीक्षा गर्नुपर्ने चेतावनी दिएका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै प्रेस युनियन र समाजवादी प्रेस संगठनले अमर्यादित अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका हुन्। युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला र समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष धु्रव भट्टराईले अलगअलग विज्ञप्ति जारी गरी घटनाको विरोध गर्दै अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका हुन्।

कार्कीले ‘महानगर आवास परियोजनाअन्तर्गत’ निर्माणाधीन बस्तीका लागि आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारबाट ७० लाख रूपैयाँ रकमान्तर गराएका थिए।

उक्त रकम तत्काल सम्झौता गरी निकासाका लागि विराटनगर महानगरपालिकालाई अनुचित दबाब दिएको विषय बाहिरिएपछि उनले पत्रकार विरुद्ध अभिव्यक्ति दिएका हुन्। महानगरविरुद्ध पनि सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छन्।

‘७० लाख कामै नगरिकन भुक्तानी मागे केदार कार्कीले भनेर जस्ले समाचार लेख्नुभएको छ नि। उहाँलाई तपाईले अहिले भनिदिनुस् त, लेख्दिनुहोस् त बलात्कार गर्यो भनेर, उसको नाममा(समाचार लेख्ने पत्रकार),’ उनले भनेका छन्, ‘अनि होइन भन्ने कुरालाई उसले प्रमाणित गरोस न। मैले बलात्कार गरेको होइन भनोस् न।’ कार्कीले भने, ‘लेख्नेले लेख्नु भन्दाअगाडि चार पटक सोच्नु पर्छ। जसले जे भन्यो पत्रकारले त्यही लेखिदिने भने त पत्रकारले नै बलात्कार गर्यो भनेर म भन्छु, तपाईले लेख्नुहोस् न। यो शब्द लेख्दा भोलि मलाई आइलाग्यो भने के हुन्छ भनेर सोच्नु पर्दैन?’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here