काठमाडौं महानगरको मतपरिणाम भोलि घोषणा गर्ने

१२ जेठ, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको निर्वाचनको मतपरिणाम शुक्रबार विहानमात्रै घोषणा गर्ने भएको छ।

वैशाख ३१ गतेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार सम्पन्न भएको हो। मतगणना सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग परामर्श गरेर भोलि विहान ६ बजेमात्रै औपचारिक रुपमा अन्तिम मतपरिणाम सुनाउने निर्णय गरेको हो।

frontline

यद्यपि मेयरमा बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएका छन्। कसले कति मत पाए भन्ने भोलि विहान सार्वजनिक गरिनेछ।  

निर्वाचन अधिकृतले सभागृहमा राति ९:३० मा विजेता भएको घोषणा भोलि विहानमात्रै हुने भएकाले उम्मेदवारका समर्थक तथा नेता कार्यकर्तालाई घर जान सुझाएका थिए।

उनले निर्वाचन आयोगबाट भोलिमात्रै घोषणा हुने भएकाले सबै जना भोलि विहान ६ बजेमात्रै उपस्थित हुन अनुरोध गरे।

उनले खुलामञ्चमा मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको धन्यवाद सभा खुलामञ्चमा हुने जानकारी पनि गराए। ‘भोलि विहान यहीँ जम्मा भएर र्‍याली लिएर भद्रकाली, सहिदगेट हुँदै खुलामञ्चमा धन्यवाद सभामा सहभागी बनौं,’ उनले भने।

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह र सुमन सायमीसहित कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित, राप्रपाका मदनदास श्रेष्ठ प्रतिस्पर्धामा थिए।

उपमेयरमा डंगोलसहित गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ र विवेकशील साझाबाट कीर्ति तुलाधर प्रतिस्पर्धामा थिए। 

वडामा कांग्रेसलाई बहुमत

महानगरमा १४ नम्बर वडाको गणना सकिएसँगै पूर्णरुपमा मतगणना सम्पन्न भएको छ। वडा नम्बर १४ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।

महानगरका ३२ वडामध्ये नेपाली कांग्रेसले २० वडा जितेर बहुमत हासिल गरेको छ। त्यसैगरी ११ वडा जितेको नेकपा एमाले कमजोर बनेको छ। काठमाडौंमा १ वडा समाजवादीले जितेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here