काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यले मतदाताहरूमा आफ्नो लागि ठुलो उत्साह र भरोसा पाएको
प्रश्न: काठमाडौं क्षेत्र नम्बर–९ मा नेकपा (एमाले) को तर्फबाट तपाईंको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ?
उत्तर: अहिलेको युग सूचना प्रविधिको हो। त्यसैले यस पटकको निर्वाचनमा हामीले परम्परागत शैलीसँगै ‘प्रविधिमैत्री चुनावी प्रचार’लाई विशेष प्राथमिकता दिएका छौँ। सूचना प्रविधिको उच्चतम उपयोग गर्दै हामीले हाम्रा एजेन्डाहरू मतदाताका बीच पुर्याइरहेका छौँ।
यसका साथै, म स्वयम् मतदाताका घरदैलोमा पुगेर उहाँहरूका गुनासा र सुझाव सुन्ने कार्यमा व्यस्त छु। विगतमा जनप्रतिनिधि हुँदा मैले गरेका कामको समीक्षा गर्ने, आगामी योजनाबारे छलफल गर्ने र टोल तथा वडा तहका साथीहरूले तयार पार्नुभएको कार्ययोजना अनुसार जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यलाई नै मैले मुख्य अभियान बनाएको छु।

प्रश्न: चुनावी घरदैलोका क्रममा मतदाता र शुभेच्छुकहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
उत्तर: मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको छु। विशेषगरी, काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आम नागरिकले एकजना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यन्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाउनु यस क्षेत्रकै गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ। उहाँहरूले देखाउनुभएको यो अगाध माया र सम्मानले मलाई थप जिम्मेवार बनाएको छ।
म सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठूला भाषण गर्ने कुरामा विश्वास गर्दिनँ। म जे गर्न सक्छु, त्यो मात्र बोल्छु। जनप्रतिनिधि रहँदा वा नरहँदा, सधैँ समाजसेवा र अध्ययन-अनुसन्धानमै मेरो समय बित्ने गरेको छ। मेरो एउटै संकल्प छ– ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’। यही भावनाका साथ म राष्ट्र र जनताको सेवामा समर्पित छु। मतदाताहरूको यो साथ र समर्थनले मेरो जित सुनिश्चित मात्र होइन, यस क्षेत्रको विकासका लागि बलियो आधारसमेत तयार गरेको छ।
प्रश्न: तपाईं यही काठमाडौंको माटोमा जन्मिनुभयो, हुर्किनुभयो। यहाँको विकास र समृद्धिको सपनालाई कसरी हेर्नुभएको छ?
उत्तर: मेरो लागि राजनीति पेशा होइन, विशुद्ध सेवा हो। म यही काठमाडौंको माटोमा जन्मिएँ, यहीँको हावापानीमा हुर्किएँ। त्यसैले यस क्षेत्रप्रतिको मेरो दायित्व अगाध छ। मेरो मूल ध्येय भनेकै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, र रोजगारीका अवसरहरू सिर्जना गर्नु हो। विशेषगरी काठमाडौंको मुटु मानिने यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धन मेरो पहिलो प्राथमिकता हो। म यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के विश्वास दिलाउन चाहन्छु भने— म जे बोल्छु, त्यो पूरा गर्छु र मेरो बाँकी जीवन यहीँको माटोको सेवामा समर्पित रहनेछ।
प्रश्नः २०७४ सालको निर्वाचनपछि तपाईंले यस क्षेत्र ९ (क) को जनप्रतिनिधि र छोटो समय मन्त्रीका रूपमा काम गर्नुभयो। त्यस अवधिमा भएका मुख्य उपलब्धिहरू के-के हुन् ?
उत्तर :- काठमाडौं क्षेत्र नम्बर–९ (क) अन्तर्गतका वडाहरू ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छन्। म प्रदेश सभा सदस्य र मन्त्री रहँदा यी सम्पदाहरूको पुनरुत्थानमा अहोरात्र खटिएँ। मेरा कामहरू आज जनताको अगाडि छर्लङ्ग छन्। केही मुख्य उपलब्धिहरू यसप्रकार छन् :

सम्पदा पुनरुत्थान : श्वेत भैरव फल्चा, श्वेत भैरव नारायण मन्दिर, टेबहाल नास द्यः, वटुचिँकअट नारायण मन्दिर, र पचली भैरवका दुईवटा फल्चाहरूको सफल पुनर्निर्माण। त्यस्तै, बासुकी दह नजिकैको मिन्डोल लिंग बल्खु गुम्बा तथा विभिन्न ऐतिहासिक सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन । साथै यस क्षेत्रमा रहेका अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष योगदान ।
शैक्षिक सुधार : सरस्वती निकेतनमा कम्प्युटर ल्याब, कुलेश्वर आवासीय मावि र जनपथ मावि कलंकीमा सभाहल निर्माण, तथा जनमैत्री क्याम्पसको भवन तथा कम्प्युटर ल्याब, निर्माणमा विशेष बजेट व्यवस्था, सरकारी विद्यालयहरुमा शैक्षिक सुधारकालागि विविध कार्यक्रमहरुका संचालन ।
पूर्वाधार र वातावरण : कामपा १२ वडाको खोल्चापाखामा आकर्षक पार्क निर्माण, खड्का गाउँमा खानेपानीका लागि ३ लाख लिटरको पानी टैकी निर्माण, डिप बोरीगं, फिल्टरेशन प्लान्ट जडान तथा पम्प हाउस तथा बस्तीभरी घर घरमा पाइपलाइन विस्तार, ज्ञानतीर्थ सडक ढलान लगायत क्षेत्रभरी अधिकांश ठाउँमा कालोपत्र सम्पन्न र विभिन्न क्लब तथा विद्यालयहरूमा खानेपानी फिल्टर प्लान्ट जडान, मयलबारी लगायत क्षेत्रभित्रका धेरै ठाउँमा खाने पानीको समस्या समाधान लगायतका धेरै पूर्वाधारहरुका काम सम्पन्न।
यस्तै कानून निर्माण, कानून एप्प निर्माण, हार्जट म्यापिगं तथा अलर्टको एप्प निर्माणको काम अघि बढाएको, सूचना प्रविधि सम्बन्धि एप्पहरु निर्माण तथा मन्त्रालयका अधिकाश कार्यक्रमहरु छोटो अवधिमै सम्पन्न ।
मैले गरेका यी कामहरू केवल तथ्याङ्क मात्र होइनन्, यस क्षेत्रको विकासप्रतिको मेरो इमान्दार प्रयासका प्रमाणहरू हुन्। आज जनताको घरदैलोमा पुग्दा यही कामहरुको फेहरिष्ट लिएर गएको छु । उहाँले पनि मैले पहिलो जनप्रतिनिधि हुँदा गरेको काम संम्झेर मलाई माया, समर्थन गर्नुभएको छ जसबाट मलाई थप हौसला मिलेको छ।
प्रश्न: अहिले काठमाडौं क्षेत्र नम्बर–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस जस्ता बलिया प्रतिस्पर्धी पार्टी हरू हुनुहुन्छ। यसले गर्दा तपाईंको जित चुनौतीपूर्ण देखिन्छ नि, यसलाई कसरी लिनुभएको छ?
उत्तर: लोकतन्त्रमा निर्वाचन भनेको विचार, एजेन्डा र कार्यक्षमताको स्वस्थ प्रतिस्पर्धा हो। म निर्वाचनलाई जनताको सर्वोच्च अदालत मान्छु। कुनै पनि उम्मेदवारका लागि निर्वाचन कहिल्यै ‘सजिलो’ हुँदैन र यसलाई हल्का रूपमा लिनु पनि हुँदैन। यदि हार-जित पहिले नै निश्चित हुन्थ्यो भने त निर्वाचनको यो महान् लोकतान्त्रिक अभ्यास र राज्यको यति ठूलो लगानीको औचित्य नै रहँदैनथ्यो। म प्रतिस्पर्धी साथीहरू र उहाँहरूको उम्मेदवारीलाई सम्मान गर्छु।

म काठमाडौं–९ का मतदाताहरूको चेतना र विवेकमाथि पूर्ण विश्वास गर्छु। अहिले घरदैलोका क्रममा मैले जुन स्तरको स्नेह, माया र समर्थन पाइरहेको छु, त्यसले के पुष्टि गर्छ भने— यहाँका जनता ‘परीक्षण भइसकेको’ र ‘काम गरेर देखाएको’ नेतृत्वको पक्षमा हुनुहुन्छ। मेरा प्रतिस्पर्धी साथीहरूका आफ्नै एजेन्डा होलान्, तर यस क्षेत्रको विकासको निरन्तरता र समृद्धिका लागि मेरो अनुभव र कार्यक्षमताको विकल्प अर्को हुन सक्दैन। म चुनौतीलाई अवसरमा बदल्न अभ्यस्त छु र यस पटक पनि क्षेत्र नम्बर–९ का सचेत मतदाताहरूले विकास र स्थिरताको पक्षमा मतदान गर्नुहुनेछ भन्नेमा म ढुक्क छु।
प्रश्न: बजारमा एमालेभित्र अन्तर्घातको डर छ र कतिपय नेताहरू तपाईंको पक्षमा खुलेका छैनन् भन्ने चर्चा छ नि, वास्तविकता के हो?
उत्तर: यो विपक्षीहरूले फैलाएको निराधार हल्ला र योजनाबद्ध भ्रम मात्र हो। नेकपा (एमाले) एक ढिक्का भएर निर्वाचनमा होमिएको छ। म काठमाडौं महानगरपालिका वडा नम्बर २१, लगनटोलको स्थायी बासिन्दा हुँ, जुन क्षेत्र एमालेको ‘लालकिल्ला’ मानिन्छ। हाम्रा आदरणीय नेता तथा पूर्वमेयर विद्यासुन्दर शाक्य यहीँको हुनुहुन्छ, उहाँले यही वडाबाट दुई पटक वडाध्यक्ष तथा मेयरमा समेत निर्वाचित हुनु भएर महानगरको नेतृत्व गर्नुभएको इतिहास छ।
त्यति मात्र होइन, पूर्वमन्त्री तथा नेता कृष्णगोपाल श्रेष्ठ अभिभावकका रूपमा उहाँको पूर्ण साथ मलाई छ । उहाँ स्वयं स्वयं मेरो निर्वाचनमा अहोरात्र खटिरहनुभएको छ। समानुपातिक सांसद कुलभक्त शाक्य, प्रदेश सभा सदस्य केशव पोखरेल तथा समानुपातिक उम्मेदवार डा. सानुमैया खड्का(सविता) लगायतका सम्पूर्ण नेतृत्व तह मेरो विजय सुनिश्चित गर्न टोल-टोलमा पुगिरहनुभएको छ काठमाडौं महानगरकी कार्यवाह प्रमुख सुनीता डंगोलको पदीय मर्यादाका कारण चुनावी प्रचारमा प्रत्यक्ष देखिन नमिल्ने कानुनी पाटो बेग्लै हो, तर उहाँको पूर्ण नैतिक समर्थन र शुभेच्छा मसँगै छ। त्यसैले, पार्टीभित्र कुनै पनि प्रकारको मतभेद छैन; हामी एउटा चट्टानी एकताका साथ मैदानमा छौँ।






प्रतिक्रिया दिनुहोस्