काठमाडौंलाई डुबानबाट जोगाउने सरकारी सोच : चोभारमा सुरुङ, नक्खुलाई बाइपास

डुबानको दीर्घकालीन समस्या समाधानका लागि चोभारमा सुरुङ खन्ने र नक्खुको बाढी बाइपासको प्रबन्ध मिलाउने विषयमा सरकारी अधिकारीहरूबीच छलफल चलाइएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • सरकारी अधिकारीहरुले काठमाडौंको डुबान समस्याको दीर्घकालीन समाधानका लागि चोभारमा सुरुङ खन्नुपर्ने आवश्यकता देखेका छन् ।
  • नक्खु खोलाको बाढीलाई तर्काउने योजनाबारे पनि प्रारम्भिक छलफल चलाइएको छ।
  • विपद् विज्ञहरू भने काठमाडौं उपत्यकाको डुबान समस्या प्राकृतिकभन्दा मानव सिर्जित भएकाले हाम्रा गतिविधि प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिन्छन् ।

१५ जेठ, काठमाडौं । सरकारी अधिकारीहरुले काठमाडौंको डुबान समस्याको दीर्घकालीन समाधानका लागि चोभारमा सुरुङ खन्नुपर्ने आवश्यकता देखेका छन् ।

चोभार गल्छी काठमाडौं उपत्यकाका खोलानाला निकास हुने एक मात्र ठाउँ हो । त्यहाँका ढुंगा हटाएर तत्कालका लागि पानी बाहिर पठाइए पनि दीर्घकालीन समस्या समाधानका लागि भने सुरुङ खनेर बाढी निकासको प्रबन्ध मिलाउने विषयमा दुई सरकारी निकायका अधिकारीहरू बीच छलफल चलाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र शहरी विकास मन्त्रालयबीच गत मंगलबार भएको छलफलका एक सहभागीले भने, ‘तत्कालको समस्या टार्न ढुंगा–गेग्रान त हटाउने तर यसैगरी पानी पर्ने र शहरीकरण भइराख्ने हो भने त्यो गल्छीले धान्न सक्ने अवस्था छैन । त्यसैले फ्लड बाइपास टनेल आवश्यक देखिएको छ ।’

पोहोर साल जस्तो डुबान यसपाली नहोस् भनेर वर्षा सुरु हुनु अगावै चोभार गल्छीमा रहेका ढुंगा नेपाली सेनाको सहयोगमा हटाउने निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले गरेको छ ।

सुरुङको सम्भाव्यता अध्ययन हुन र पूर्णयोजना बनाउन भने बाँकी नै छ । तर चोभार गल्छीको पूर्वी भाग (ललितपुरतर्फ)बाट चोभार सुक्खा बन्दरगाहको अघिल्लोपट्टि सुरुङ वारपार छेड्न सकिन्छ कि भनेर छलफल चलेको छ । सो स्थानमा सुरुङको लम्बाइ करिब ४०० मिटर हुने अनुमान छ ।

‘मल्टिपर्पज टाइपको सुरुङ बनाएर वर्षायाममा बाढी पास गर्ने र सुक्खायाममा बाटोको रूपमा प्रयोग गर्न सकिन्छ कि भन्ने लागेको छ’ मन्त्रालयका एक प्राविधिकले अनलाइनखबरसँग भने, ‘सुरुङ बन्न सके काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक र चोभार सुक्खा बन्दरगाह आउ–जाउ गर्दा सवारी साधनको चाप व्यवस्थापनमा समेत सहज हुन्छ ।’

काठमाडौंको कीर्तिपुरतर्फको हालको बाटो यथावत् हुने र ललितपुरतर्फबाट सुरुङ बन्नसके दुईतिरबाट सवारी साधन चलाउँदा ट्राफिक व्यवस्थापन पनि सहज हुनसक्ने अनुमान छ ।

नक्खुको बाढी बाइपासको योजना

बस्ती डुबान हुनबाट जोगाउन नक्खु खोलाको बाढीलाई बाइपास गर्ने सम्भावनाबारे पनि सरकारी अधिकारीहरू छलफलमा छन् । त्यसका लागि कार्यविनायक होम्स नजिकबाट पानी तर्काउने सम्भावनाबारे प्रारम्भिक छलफल चलेको छ ।

‘कार्यविनायक होम्सनेर नाकेडाँडी जस्तो छ । त्यहींबाट पानी तर्काएर अलि तल पुर्‍याई बागमती नदीमै मिसाइदिने हो भने त डुबानको समस्या केही हदसम्म कम हुन्छ कि भन्ने सोच आएको छ’, शहरी विकास मन्त्रालयका एक अधिकारीले भने ।
https://www.youtube.com/embed/9invACoMHGw?si=0rQNn_2D3gSXAMB0

सामान्य अवस्थामा नक्खु खोला अहिले जसरी बगेको छ, त्यसैगरी बग्ने र बाढीको बेला बढी भएको पानी बाइपास हुनसक्ने उनको भनाइ छ ।

यसबारे एशियाली विकास बैंक (एडीबी)का प्रतिनिधिहरूसँग एक चरणमा अनौपचारिक छलफल पनि भएको उनले बताए । यद्यपि यसको सम्भाव्यता, लागत तथा अन्य प्राविधिक पक्षबारे थप छलफल र परामर्श हुन बाँकी छ ।

चोभार गल्छीको ढुंगा हटाउन सेनालाई जिम्मा

नक्खु सहित काठमाडौं उपत्यकाका खोलानालाको एक मात्र निकास चोभार गल्छी हो । प्राचीन समयमा काठमाडौं उपत्यकामा रहेको तलाउको पानी चोभारको डाँडो काटेर बाहिर पठाई बस्ती बसालेको किंवदन्ती छ ।

डाँडो काटेको भनिएको ठाउँ साँघुरो छ । त्यहाँबाट पानी निकास कम हुने हुँदा काठमाडौं उपत्यकाका नक्खु, कुलेश्वर, बल्खु, थापाथली, शंखमूल लगायत भूभाग हरेक वर्षायाममा डुबानमा पर्दछन् ।

गत वर्ष २०८१ सालको असोज १० देखि १३ भित्र काठमाडौं उपत्यकाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि बस्तीहरू डुबानमा परेका थिए ।

वर्षाले नराम्रोसँग प्रभावित भएका बस्तीहरूमध्ये ललितपुर नक्खुको सक्षम टोल पनि एक थियो । यस वर्ष पनि त्यस्तै डुबान हुने हो कि भन्ने चिन्ता लागेको सक्षम टोल विकास समितिका अध्यक्ष कुलचन्द्र शर्माले बताए ।

उनका अनुसार पोहोरको वर्षाले चोभारको गल्छीमा ढुंगा र गेग्रान जम्मा हुँदा सतह करिब दुई मिटर माथि उठेको छ । गल्छीका दुवैतर्फका भित्ताबाट पनि पहिरो झरेको छ ।

त्यसैले ती ढुंगा र गेग्रान हटाई पानी निकासको सहज प्रबन्ध गरिदिन टोलवासीको तर्फबाट अध्यक्ष शर्माले ललितपुर महानगरपालिकाको १८ र कीर्तिपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालयमा लिखित निवेदन दिएका थिए ।

ती वडा कार्यालयले स्थानीयको माग जायज भएको भन्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा सिफारिस पठाएका थिए । त्यसपछि समितिका उपआयोजना निर्देशक सीडीई उद्धव नेपाल लगायतले स्थलगत अध्ययन गरेर खोंचमा रहेका ढुंगा वर्षायाम अगावै हटाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सोही निष्कर्ष समेतको आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले नेपाली सेनाको सहयोग मार्फत चोभार गल्छीमा रहेका ढुंगा हटाउने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले अनलाइनखबरसँग भने, ‘शहरी विकास मन्त्रालयको नेतृत्वमा सेनाको सहयोग लिएर चोभारको गल्छीमा रहेका ढुंगा हटाएर पानी निकासको सहज प्रबन्ध मिलाउने निर्णय भएको छ ।’

‘मानव सिर्जित समस्या’

पहिलेपहिले काठमाडौंमा खाली जमिन प्रशस्त थियो । पानी पर्दा जमिनले सोस्थ्यो र बढी भएको पानी मात्र बगेर खोलानालामा जान्थ्यो । तर अहिले काठमाडौंमा जनसंख्या बढेसँगै खाली जमिन पनि घट्दै गएको छ । विगतमा अग्ला ठाउँमा बस्ती र होचा ठाउँमा खेतिपाती हुने गरेकोमा अहिले होचा ठाउँमै घरहरु बनेका छन् । पानी प्राकृतिक रूपमा बग्ने राजकुलाहरू मासिएका छन् ।

डाँडाकाँडाहरु जथाभावी खनेर प्लटिङ गरिएको छ । त्यहाँका झारपात, बोटबिरुवा मासिएका छन् । त्यसैले पानी पर्दा ढुंगामाटो बगेर खोलामा मिसिएका छन् । यसले हरेक वर्ष बागमतीसहित काठमाडौंका खोलानालाको सतह बढाइरहेको छ ।

त्यसैले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपआयोजना निर्देशक उद्धव नेपाल जलवायु परिवर्तनका कारण चरम मौसमी घटना आगामी दिनमा अझै बढ्ने सम्भावना भएकाले काठमाडौं उपत्यकाको बाढी निकासका लागि केही न केही विकल्प चाहिने बताउँछन् ।

‘एकातिर नदीको सतह उकास भइरहेको छ भने अर्कोतिर अतिक्रमणका कारण चौडाइ घटिरहेको छ । अनि जलवायु परिवर्तनको असरले पानी पर्ने तरिका पनि बदलिएको छ,’ समितिका सिनियर डिभिजनल इन्जिनियर नेपाल भन्छन्, ‘यी सबै अवस्था हेर्दा भविष्यमा चोभारको गल्छीको निकासले मात्र धान्न सक्दैन । चोभारको डाँडोमा पहिरोको पनि जोखिम देखिएकाले अर्को विकल्प चाहिन्छ । त्यो भनेको फ्लड इभाकुयसन टनेल पनि हुनसक्छ ।’

काठमाडौंमा डुबानको समस्या बढ्नुमा अव्यवस्थित शहरीकरण, कंक्रिट संरचना, खोला अतिक्रमण, वनस्रोतको अनियन्त्रित दोहन र ढल निकासको उचित प्रबन्ध नहुनुलाई पनि मानिएको छ ।

त्यसैले विपदविज्ञ डा. धर्मराज उप्रेती भन्छन्, ‘काठमाडौं उपत्यकाको डुबान समस्या प्राकृतिकभन्दा मानव सिर्जित हो । हाम्रा गतिविधि प्रकृतिमैत्री भएनन् भने यो समस्या झन् विकराल हुनेवाला छ ।’

काठमाडौं डुबान |चोभार |नक्खु खोला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here