काठमाडौँको वडाबाट निर्वाचित २९५ पदाधिकारी र सदस्यहरूलाई एकैसाथ शपथ गराउँदै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ जिल्लाका वडा अधिवेशन सम्पन्न वडाका निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शपथ ग्रहण गराउने भएको छ ।
अधिवेशन सम्पन्न भई शपथ ग्रहण गराउन बाँकी ४१ वटा वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई एकैसाथ शपथ ग्रहण कार्यक्रम आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ ।




शुक्रवार हुने उक्त शपथ ग्रहण कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन एवं प्रशिक्षण गर्ने कार्यक्रम रहेको सो पार्टीको भनाइ छ ।
वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप विष्टले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन् ।
संयुक्त शपथ ग्रहणले पार्टी पङ्क्तिमा ऊर्जा एवं हौसला प्रदान हुने अपेक्षा राखिएको रास्वपाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्