कागेश्वरी मनोहरा नगरपालिकाले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएपछि नापी तथा मालपोतसम्बन्धी सेवा सहज
कागेश्वरी मनोहरा नगरपालिकाले गत असार १ गतेदेखि स्थानीय तहमै भू–भूमि व्यवस्थापन शाखा तथा भू–सेवा केन्द्र सञ्चालनमा ल्याएपछि नापी तथा मालपोतसम्बन्धी सेवा अब आफ्नै नगरपालिकाबाट सहज रूपमा उपलब्ध हुन थालेको छ।
एकीकृत रूपमा सुरु गरिएको यस सेवा प्रवाहबाट नगरबासीले छिटो, पारदर्शी र झन्झटरहित सेवा पाउन थालेपछि सेवाग्राहीहरूले यसको खुलेर प्रशंसा गरेका छन्।
नगरपालिकाले सुरु गरेको यस व्यवस्थाअनुसार जग्गा प्रशासनसँग सम्बन्धित अधिकांश काम अब स्थानीय तहमै सम्पन्न हुने भएकाले विगतमा चाबहिल वा साँखुसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। सेवाग्राहीहरूले यसलाई नागरिकमैत्री र प्रभावकारी कदमका रूपमा लिएका छन्।
नगरपालिकाको नापी शाखाका प्रमुख अशोक कुमार सिंहका अनुसार, देशका अधिकांश स्थानीय तहमा असार १ गतेदेखि सडक सीमा रेखाङ्कनको कार्य रोकिएको भए पनि कागेश्वरी मनोहरा नगरपालिकाले विशेष समय व्यवस्थापन गरी उक्त सेवा निरन्तर सञ्चालन गरिरहेको छ। उनका अनुसार शाखाले बिहान ८:०० देखि १०:०० बजेसम्म तथा बेलुका ४:०० देखि ५:०० बजेसम्म फिल्ड भेरिफिकेसनको काम गर्दै आएको छ भने दिउँसो कार्यालय समयभर कित्ताकाट, कित्ता एकीकरण, नक्सा प्रिन्ट, नक्सा अद्यावधिकलगायतका प्राविधिक सेवा नियमित रूपमा प्रदान गरिरहेको छ।

प्रमुख सिंहले हालै नगरपालिकाले गुठी जग्गासम्बन्धी सेवा पनि स्थानीय तहमै सुरु गरेको जानकारी दिए। उनका अनुसार डिजिटल पुर्जा (लिङ्क नम्बर भएको पुर्जा) अन्तर्गत पीटी, पीएफ र पीएम उल्लेख भएका जग्गाको कित्ताकाट तथा कित्ता एकीकरणको सेवा समेत अब यही कार्यालयबाट उपलब्ध हुन थालेको छ। उनले नगरप्रमुख उपेन्द्र कार्कीको विशेष पहल, दूरदृष्टि तथा सम्पूर्ण नगर टिमको समन्वयका कारण यस्तो सेवा सम्भव भएको भन्दै सबैप्रति आभार व्यक्त गरे।
यस्तै, भूमि व्यवस्थापन शाखाका संयोजक जनकराज बिष्टले भू–सेवा केन्द्रको मुख्य उद्देश्य नागरिकलाई सरल, सुलभ र प्रभावकारी सेवा उपलब्ध गराउनु रहेको बताए। उनका अनुसार केन्द्रबाट सेवाग्राहीका लागि लिखत (विवरण) तयार गर्ने, राजस्व तथा लाभकर सम्बन्धी हिसाब–किताब मिलाउने, आवश्यक कागजात रुजु गर्ने लगायतका सम्पूर्ण प्रक्रिया एकीकृत रूपमा सम्पन्न गरिन्छ। त्यसपछि सम्बन्धित फाइल भूमि व्यवस्थापन शाखामार्फत अघि बढाइने र आवश्यक सेवा एउटै स्थानबाट उपलब्ध गराइने व्यवस्था मिलाइएको उनले जानकारी दिए। उनले नगरबासीलाई यस सुविधाको अधिकतम उपयोग गर्न आग्रह समेत गरे।
सेवा लिन पुगेका एक स्थानीय सेवाग्राहीले पहिले मालपोत र नापी कार्यालयका लागि छुट्टाछुट्टै धाउनुपर्ने अवस्था रहे पनि अहिले नगरपालिका र मालपोतसम्बन्धी काम एकै स्थानबाट एकद्वार प्रणालीमा छिटो र व्यवस्थित रूपमा भइरहेको अनुभव सुनाए।
कार्यालय परिसरमा भेटिएकी अर्की महिला सेवाग्राहीले शाखाको सेवा अत्यन्त व्यवस्थित रहेको, कर्मचारीहरू शालीन, सहयोगी र सेवामुखी रहेको भन्दै प्रशंसा गरिन्। सरकारले भूमि प्रशासनसँग सम्बन्धित अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेपछि नागरिकले प्रत्यक्ष राहत पाएको उल्लेख गर्दै उनले यस्तो अभ्यास देशभर प्रभावकारी रूपमा विस्तार हुने विश्वास व्यक्त गरिन्।
कागेश्वरी मनोहरा नगरपालिकाले इतिहास रच्दै देशभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा पहिले स्थानीय स्तरमै भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। नगरपालिकाले सुरु गरेको यो अभ्यासलाई अहिले अन्य स्थानीय तहहरूले समेत अनुसरण गर्न थालेका छन्। स्थानीय सरकारमार्फत नापी तथा मालपोत सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने यस पहललाई भूमि प्रशासन सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।






प्रतिक्रिया दिनुहोस्