कांग्रेस १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुन लागेको हो ।
उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उद्घाटन समारोहमा धेरै मानिस उतारेको छैन । काठमाडौं उपत्यकाभित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरु मात्र उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करीब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ ।
त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।
सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने
कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे हुनेछ ।
उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदान भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा हुनेछ ।
मतदानमा २९ किसिमका मतपत्र हुनेछन् । उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।
कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो धेरैको छ, तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । संस्थापन समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने भए पनि संस्थापनइतर समूहबाट उम्मेदवार टुंगो लागेको छैन ।
संस्थापनइतर समूहका प्रकाशमान सिंह र डा. शेखर कोइराला आ–आफ्नो अडानमा टसमस नभएपछि उम्मेदवार चयन गर्न सकस परिरहेको छ ।
विगतका महाधिवेशनमा जस्तो यसपटक पार्टीको नीति तथा कार्यक्रममा छलफल गरेर अनुमोदन हुनेछैन । आन्तरिक विवादका कारण पटक–पटक महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले कांग्रेसले यसपटक नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय गरेको थियो ।
महाधिवेशनमा सहभागी हुन अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । उनीहरूलाई बस्ने व्यवस्था सुन्धारा, गौशाला र ठमेलका लगायतका होटलहरुमा व्यवस्था गरिएको छ । खाना र नास्ताको व्यवस्था भने भृकुटीमण्डप परिसरभित्र हुनेछ ।
महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्