कांग्रेस सभापतिका उम्मेदवार एवम् प्रधानमन्त्री देउवाले गरे मतदान

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। सोमबार दिउँसो राष्ट्रिय सभा गृहमा पुगेर देउवाले मतदान गरेका हुन्।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका भएपनि प्राविधिक कारण साढे ११ बजे मात्रै मतदान सुरु भएको जनाएको छ। समितिका अनुसार महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। भृकुटीमण्डपको हलमा प्रदेश नं १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। 

frontline

मतदान गर्न बिहान साढे ७ बजेदेखि महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्। प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ। मतदान गर्न एक जनालाई कम्तिमा ३५ मिनेट लागेको छ। 

 सभापति उम्मेदवार डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि लगायतले पनि मतदान गर्ने तयारी गरेका छन्। सोमबार पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।  १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here