कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाताहरू लाइनमा बसेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु हुने भनिए तापनि मतदाताहरू भने बिहानैदेखि लाइनमा लागेका हुन्।

योसँगै हिजो मतदान गर्न नपाएका मतदाताहरू फेरि उत्साहित बनेका छन्। टाढा जानुपर्ने प्रतिनिधिहरू मतदान सकेर दशैँ मनाउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिहरूमा फेरि ऊर्जा थपेको छ।

frontline

खराब मौसम र प्राविधिक कारणले ढिला गरी मतदान सुरु गर्दा राति मतदातालाई कठिन हुने भएकाले हिजो अपराह्नदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले बताए।

उनले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य-सचिव कटुवालले बताए।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक सबै तयारी सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसैलाई मध्यनजर गर्दै आज बिहानदेखि मतदान सुरु गरिएको बताए।

उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको जानकारी दिए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएको हो।

आजको बसाइ र खानाको खर्च पार्टीकै

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएकाले महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने बताए।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने?

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

  • राष्ट्रिय सभा गृह (मतदान केन्द्र ‘क’): बागमती प्रदेश
  • खुलामञ्च (मतदान केन्द्र ‘ख’): कोशी प्रदेश तथा तराई–मधेस समूह
  • हिमाल हल: गण्डकी प्रदेश
  • तराई–मधेस हल: मधेश प्रदेश
  • पहाड हल: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here