कांग्रेस महाधिवेशन : दाङमा ४ जनाको सभापतिमा उमेद्वारी
११ मंसिर दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ जिल्ला अधिशेनको लागि प्रक्रिया सुरु भएको छ। जिल्ला नेतृतवको लागि सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चुनिने भएको छ।
कांग्रेस दाङ हाक्ने गरी जिल्लामा ४ जना प्रभावशाली नेताहरुले सभापतिमा उमेद्वारी दिएका छन्। सभापति पदका लागि शुक्रबार चार जनाले मनोनयन दर्ता भएको हो। संस्थापन पक्षधबाट २ जना र संस्थापन इतरबाट २ जनाले जिल्ला नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा लागेका छन्।
संस्थापन पक्षबाट दाङको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने जानकीलाल बस्नेत, क्षेत्र नं. २ बाट भुपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन्। जानकीलाल बस्नते नेविसंघका पूर्व जिल्ला अध्यक्ष हुन्। १३औं महाधिवेशनका क्रममा क्षेत्रीय सभापतिमा बराबर मत आएपछि गोला तान्दा उनी अनुराग यादवसँग पराजित भएका थिए।
भुपबहादुर डाँगी क्षेत्र नं २ का निवर्तमान क्षेत्रीय सभापति हुन्। डाँगी दुई कार्यकाल क्षेत्रीय सभापतिको रुपमा नेतृत्व गरेका नेता हुन्। उनी स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए।
क्षेत्र नं. २ बाट कमल किशोर घिमिरे संस्थापन इतर समुहबाट समापतिका लागि उमेद्वारी दर्ता गरेका छन्। घिमिरे पूर्व जिल्ला सचिव हुन् भने गत अधिवेशनमा समापतिमा निकटतम प्रतिद्वन्द्वी हुन्।
१३औं महाधिवेशनका क्रममा उनी पार्टी सभापति कीर्तिबहादुर खड्कासँग पराजित भएका नेता हुन्। संस्थापन इतरबाट दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने शंकर डाँगीले पनि सभापतिका लागी उमेद्वारी दिएका छन्। उनी अहिलेका जिल्ला सचिव हुन्।
जिल्ला कार्य समितिको उपसभापतिका लागि सात जनाले उमेद्वारी दर्ता गराएका छन्। उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदिपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ।
यस्तैगरी सचिव पदमा चार जनाले उमेद्वारी दिएका छन्। निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश रानाले उमेद्वारी दिएका छन्। भने सह–सचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उमेद्वारी दिएका छन्।
सात जना पदाधिकारी, १८ जना समावेशी, २७ जना एक पालिकाबाट दुई-दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन्। नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट नेतृत्व चयन हुन लागेको छ।
निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन्। भने ५१ प्रतिशत भन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोश्रोपटक चुनाव हुने निर्वाचन समितिले बताएको छ।
यस्तैगरी बंगलाचुली पालिकाका सदस्यमा सर्वसम्मत चयन भएको छ। निर्वाचनका लागि शनिबार बिहान आठ बजेदेखि घोराहीको भरतपुर क्याम्पसमा मतदान हुने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्