कांग्रेस बैठकमा गभर्नर छलफल : भट्टको विकल्प खोज्नु पर्ने हुनसक्छ

नीलम ढुंगानाको आडमा एमालेले खेलेको केही पदाधिकारीको आशंका
राष्ट्रबैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नभए गभर्नरमा अर्को व्यक्ति अघि सार्नु पर्ने विषयमा कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ ।
२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको कायममुकाय गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि दोस्रो व्यक्ति अघि सार्नुपर्ने गरी छलफल भएको छ ।




शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा सहभागी एक नेताले सभापति देउवाको बोली उद्धृत गर्दै भने, ‘गभर्नर कांग्रेसलाई दिने भइसक्यो । गभर्नर हाम्रै मान्छे पठाउने हो । भट्टजीको भए हुन्छ, नभए अर्को मान्छे पठाउनु पर्यो ।’
भट्ट गभर्नर हुन नसक्ने स्थिति बने दोस्रो व्यक्ति कसलाई अघि सार्ने भन्नेबारे भने कांग्रेस टुंगोमा पुगिसकेको छैन ।
भट्टलाई गभर्नर बनाउन नसकेको अवस्थामा विकल्प खोज्नुपर्ने विषयमा भने सभापति देउवा ढुक्क देखिएको ती नेताले जानकारी गराए । ‘१/२ दिन हेरौं । भट्ट जीको भएन भने अर्को खोज्नुपर्छ भन्ने कुरा आएको छ,’ बैठकमा सहभागी नेताले भने ।
कामु गभर्नर ढुंगानाले पदीय भूमिका अनुसार जिम्मेवारी निर्वाह नगरेको भन्दै नेताहरूले असन्तुष्टि पोखेका थिए । बैठकमा सहभागी नेताका अनुसार ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुमा एमाले प्रति आशंका समेत गरेका छन् ।
कांग्रेसले इच्छाएको व्यक्ति गभर्नर हुने कांग्रेस–एमालेमा सहमति बनेपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले ५ वैशाखमा राजीनामा दिएका थिए ।
कामु गभर्नर ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । अर्थमन्त्री विष्णु पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए पनि उनले टेरिनन् ।
ढुंगानाले राजीनामा नगर्ने अडान लिएपछि उनलाई एमालेले भित्रि रूपमा सघाएको आशंका कांग्रेसमा बढ्दै गएको छ । ढुंगानाले राजीनामा स्वीकृत नगर्नुमा एमालेको षड्यन्त्र रहेको शीर्ष तहका एक नेता दाबी गर्छन् ।
‘एमालेले नखेलेको भए कार्यवाहक गभर्नरले राजीनामा स्वीकृत गर्दिनँ भन्न पाइन्छ त ?’ उनी भन्छन्, ‘स्व–इच्छाले राजीनामा दिन पनि नपाइने ? एउटा व्यक्तिले राजीनामा गर्दा उनले रोक्न मिल्छ ? गभर्नर नियुक्तिमा भयंकर राजनीति र षड्यन्त्र भएको छ । षड्यन्त्र गराउने खेलमा नीलम देखिने गरेर लागिन् ।’
कांग्रेसले चाहेको व्यक्ति गभर्नर हुनेमा भने नेताहरू ढुक्क देखिएका छन् । देउवाले पार्टी बैठक र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओली गभर्नर कांग्रेसले चाहेको व्यक्ति हुने विश्वस्त बनाएको जानकारी गराएका छन् ।
शुक्रबारको पार्टी बैठकमा छिट्टै गभर्नर नियुक्त हुने नेताहरूलाई जानकारी गराएका थिए । बैठकपछि सभापतिको बोली उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस्