कांग्रेस प्रमुख सचेतक रमेश लेखक भन्छन्- प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न खडा भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने बताएका छन्।

frontline

‘सामान्य संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘स्पष्ट बहुमत भएको अवस्थामा बाहेक प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।’

संविधानको धारा १०० को उपधारा २ अनुसार सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वसको मत लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने हुन्छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाइसकेको छ। 

संविधानले प्रधानमन्त्रीले चार अवस्थामा विश्वासको मत लिनुपर्ने प्रावधान गरेको छ।

पहिलो, प्रधानमन्त्री नियुक्ति भएको तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ। 

दोस्रो, प्रधानमन्त्रीले आफूसँग प्रतिनिधि सभाको विश्वास रहेको स्पष्ट गर्न वा उपयुक्त ठानेमा पनि विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यसको अर्थ यदि कुनै विधेयक वा बजेटका विषयमा सत्तारूढ दलहरूबीच नै फरक मत भएर फेल भएको अवस्थामा प्रधानमन्त्रीले आफूसँग सदनमा बहुमत रहे नहरेको स्पष्ट गर्न आवश्यक ठान्न सक्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।

तेस्रो, प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा विश्वासको मत लिनुपर्छ। 

चौथो, सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्छ। 

लेखकले जस्तै संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले पनि संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए।

‘संविधानले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्छ भनेको छ’, पाण्डेयले सेतोपाटीसँग भने। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री नियुक्त भएपछि तीन पटक विश्वासको मत लिइसकेका छन्। २०७९ पुस २६ गते उनले पहिलोपटक विश्वासको मत प्राप्त गरेका थिए। त्यतिबेला उनको पक्षमा २६८ र विपक्षमा २ मत परेको थियो। 

लगत्तै चैत ६ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको थियो। 

तेस्रो पटक २०८० साल फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका थिए। त्यतिबेला उनले पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here