कांग्रेस धनुषा जिल्ला सभापतिका लागि भोलि बिहान मतदान
२६ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ ।
बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो ।
यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।
निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए ।
बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताले नाराबाजी गरेर विरोध जनाएका छन् ।
पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले एक हजार २४८, सन्तोष यादवले ८८२ तथा दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।
पञ्जियार नेता बिमलेन्द्र निधि, यादव सभापति शेरबहादुर देउवा र प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्