कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार उपसभापति पदमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी बनेका छन्।

उपसभापतिको दुई खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा एक समावेशी पदमा उद्योगीसमेत रहेका विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

frontline

खुला पदबाट निर्वाचित भण्डारीले ३ हजार ७ सय ३५, आचार्यले २ हजार ३ सय ४२ र चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै महामन्त्रीमा निर्वाचित भएका पौडेलले ४ हजार १ सय ९४ मत प्राप्त गर्दा, राणाले २ हजार ३ सय ३० र संग्रौलाले ३ हजार १ सय १८ मत पाए ।

उपसभापतिकाे दाैडमा रहेका गोविन्द भट्टराईभन्दा आचार्यले ५ सय ९० मत पाएर निर्वाचित भएका हुन् । भट्टराईले १ हजार ७ सय ५२ मत पाउँदा, सुरेन्द्रराज पाण्डेले १ हजार ६ सय ७३, धनराज गुरुङले १ हजार ५ सय ९६, दीपक गिरीले ९ सय २३ र चन्द्रमोहन यादवले ७ सय ६० मत प्राप्त गरेका छन् ।

यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले आफ्ना निकटतम प्रतिस्पर्धी पूर्वसहमहामन्त्री जीवन परियारलाई ८७ मतको साँघुरो मतान्तरले पराजित गरे। परियारले १,६५८ मत पाउँदा फरमुल्लाह मन्सुरले १,१४४, सीता गुरुङले १,११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।

महाधिवेशनबाट महामन्त्रीमा  निर्वाचित भएका पौडेलले खुला प्रतिस्पर्धामा सबैभन्दा बढी ४,१९४ मत ल्याएर निर्वाचित भएका छन्। 

खुलातर्फ दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले सुनिल शर्मालाई ७३ मतको अन्तरले हराए। शर्माले २,२५७ मत प्राप्त गरे। पूर्वमहामन्त्री गुरुराज घिमिरे १,५१३ मत ल्याएर चौथो बने भने नैनसिंह महरले १,१३४ र अमरसिंह पुनले १,१२५ मत पाए।

महिला महामन्त्रीमा निर्वाचित भएकी डिला संग्रौलाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई २५४ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन्। संग्रौलाले ३,११८ मत पाउँदा उपाध्यायले २,८६४ र रीता खनालले ८०४ मत ल्याएका थिए।

null

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here