कांग्रेसले कर्णाली सरकारमा मन्त्री बन्ने दुई जना सांसदको नाम टुंग्यायो

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा मन्त्री बन्ने दुई जना सांसदको नाम तोकेको छ।

संसदीय दलको शनिबार बसेको वैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

frontline

यी दुई नाम नियुक्तिका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाईसकिएको छ।

आज मन्त्री नियुुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको छ ।

यसैबीच संसदीय दलले प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुका लागि आचारसंहिता पनि बनाएको छ।

सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ।

आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ।

यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ ।

मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरुप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ ।

‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ,’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनेपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन् ।’

संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु सम्बोधन गर्न, सुखी, समृद्ध र सम्मुनत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णय भएको बताए ।

‘नागरिक अधिकार, संविधानको रक्षा, संघीय गणतन्त्रात्मक राज्य प्रणाली र बुहलबादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको संस्थागत विकास गर्न माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने निर्णय गरेका छौं,’ शाहीले भने ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा वैशाख ३ गते काँग्रेसले पनि साथ दिएको थियो ।

त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसद्ले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाएका थिए ।

फ्लोर क्रस गरेको तीनजालाई मुख्यमन्त्री शाहीले आफ्नो सरकारमा मन्त्री बनाईसकेका छन् ।

एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सोही निर्णय अनुसार चैत २४ गते तीन जना मन्त्रीले राजीनामा दिएका थिए ।

राजीनामा दिएका उद्योगमन्त्ती नन्दसिंह बुढा फेरि सोही मन्त्रालयमा मन्त्री बनिसकेका छन् ।

अर्थ मन्त्रीबाट राजीनामा दिए प्रकाश ज्वाला फ्लोर क्रस गरेपछि मन्त्री भने बनेनन् ।

सामाजिक विकास मन्त्रीबाट दल रावलले राजीनामा दिएपछि यो मन्त्रालय अहिले पनि खाली छ ।

यो मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाईएको जलस्रोत मन्त्रालयमा काँग्रेसका दुईजना सांसद् मन्त्री बन्न लागेका हुन् ।

सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुदलाई अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएपछि कांग्रेस सत्तामा जान मानेको थिएन ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदलाई सामाजिक मन्त्रालयमै ल्याउने निर्णय गरेपछि कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

अब कर्णाली प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीसहित ३ जना, एमालेबाट फ्लोर क्रस गरी कारबाहीमा परेका स्वतन्त्र ३ जना र काँग्रेसबाट २ जना मन्त्री हुनेछन् ।

सुरुमा सात सदस्यीय मन्त्रिपरिषद् अहिले फुटाएर ८ सदस्यीय बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here