कांग्रेसमा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएकाहरूको सदस्यता नवीकरणमा विवाद

काठमाडौँ । नेपाली कांग्रेससँग एकीकरण गरी आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनिल थापा समूहको सदस्यता नवीकरणमा विवाद देखिएको छ ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच २०७४ असोज ३० गते एकीकरण भएको थियो । राप्रपाका तत्कालीन महामन्त्री थापाको समूह २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेको थियो ।




गच्छदारको पार्टीका नेता कार्यकर्ता र राप्रपा महामन्त्री थापासँग कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्तालाई २०७८ सालमा कांग्रेसको १४ औँ महाधिवेशन हुने बेलामा पार्टी केन्द्रले निर्णय गरेर कसैलाई महाधिवेशनमा सहभागी हुन पाउनेगरी र कसैलाई महाधिवेशनमा सहभागी हुन नपाउने गरी सदस्यता दिएको थियो । यद्यपि केन्द्रको निर्णय जिल्ला जिल्लामा पुगेर कम्प्युटरमा ‘इन्ट्री’ भएको थिएन ।
अहिले पनि ती सदस्यता कम्प्युटरमा इन्ट्री कसरी गर्ने र केका आधारमा नवीकरण गर्ने भन्ने समस्या देखिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
‘१४ औँ महाधिवेशन अघि हामीले अन्य पार्टीबाट कांग्रेसमा समावेश भएका साथीहरू केहीलाई त्यो महाधिवेशनमा सहभागी हुन पाउने र केहीलाई सहभागी हुन नपाउने गरी केन्द्रीय समितिबाट निर्णय गरेर सदस्यता प्रदान गरेका थियौँ,’ सदस्य चौधरीले रातोपाटीसित भने, ‘उहाँहरूले सदस्यता पाए पनि त्यो विवरण जिल्ला जिल्लामा पठाएर त्यसबेला कम्प्युटरमा इन्ट्री गरिएको थिएन । अहिलेसम्म पनि ती सदस्यता कम्प्युटरमा इन्ट्री भएका छैनन् । अहिले ती सदस्यताबारे कसरी अगाडि बढ्ने भन्नेमा समस्या देखिएको छ ।’
त्यो बेलामा सदस्यता पाएका र कम्प्युटरमा इन्ट्री भएकाहरूको बारेमा पनि केही स्थानमा समस्या देखिएको जानकारी आएको चौधरीले बताए । राप्रपाबाट कांग्रेसमा आएकाहरूको सदस्यताबारे मोरङ र धनकुटामा तथा फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएकाहरूको बारा, सप्तरी, दाङ, कपिलवस्तु र कैलालीमा समस्या भएको समितिले जनाएको छ ।
त्यो बाहेक सुर्खेतमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीबिचको विवादले सदस्यता नवीकरणमा देखिएको समस्या समाधान हुन सकेको छैन । कैलालीको टीकापुरमा अघिल्लो महाधिवेशन अगाडि नै विवाद देखिएको ७५० सदस्यबारेको समस्या टुङ्गिएको छैन । त्यहाँ पार्टीको संस्थापन र इतरसमूहको लडाइँका कारण समस्या समाधान हुन नसकेको हो ।
प्यूठानमा एउटा प्रदेश सभा क्षेत्रीय समितिमा सदस्यता नवीकरण नै भएको छैन । प्यूठानको प्रदेश सभा २ मा सदस्यता नवीकरण सुरु हुन नसकेको हो ।
कतिपय स्थानमा भने पार्टीका जिल्ला सभापतिहरूले १४ औँ अधिवेशनमा मर्जर प्रक्रियामा आएर क्रियाशील पाएका उनीहरूको कम्प्युटरमा इन्ट्रीसमेत भएको तर अहिले अवैधानिक थियो भनेर नवीकरण नगरिदिँदा समस्या देखिएको सदस्य चौधरीले बताए ।
सदस्यता व्यवस्थापन समितिको तर्फबाट संयोजक एवं कांग्रेस महामन्त्री गगन थापाले ७७ वटै जिल्ला समितिका सभापतिलाई परिपत्र गर्दै पार्टी केन्द्रीय समितिको पुस १९ मा भएको निर्णय अनुसार चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए । त्यो समय सकिन अब ८ दिन बाँकी छ ।
तर, अहिलेसम्म कुनै पनि जिल्लाले सदस्यता नवीकरणको काम टुङ्ग्याएर केन्द्रमा नपठाएको चौधरी बताउँछन् । ‘अहिलेसम्म कुनै जिल्लाले पनि नवीकरणको काम टुङ्ग्याएर केन्द्रमा पठाएका छैनन् । यहाँ–यहाँ यो प्रकारको विवाद भयो भनेर लेखेर पनि पठाएका छैनन्,’ चौधरीले भने ।
#नेपाली कांग्रेस #सुनिल थापा #विजय गच्छदार
प्रतिक्रिया दिनुहोस्