कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पुरानै कार्यक्रम र आयोजनालाई निरन्तरता

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ल्याइएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम र आयोजनालाई निरन्तरता दिइएको हो।

विगतका अधुरा कार्यक्रम र आयोजनालाई पूर्णता दिन अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको प्रदेश सरकारले जनाएको छ।

frontline

प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना र कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।

अघिल्ला वर्षहरुमा समावेश भएका कार्यक्रम र योजनाहरुले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएका हुन्। विगतमा सुरु गरिएका मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम, विद्यालयमा स्वाथ्यकर्मी कार्यक्रम र दुर्गमका गर्भवती र सुत्केरीको हवाइ उद्धार कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने छ।

अघिल्ला आर्थिक वर्षका नीति तथा कार्यक्रममा समावेश भएका छोरीको बैंक खाता खोल्ने कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, कर्णाली र भेरी करिडोरको स्तरोन्नति तथा निर्माण, प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी संकट समाधान गर्नका लागि भेरी लिफ्ट खानेपानी आयोजना, जनता आवास कार्यक्रम र एकीकृत बस्ती विकास कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिइने उल्लेख छ।

त्यस्तै अघिल्लो नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइएको तर कार्यान्वयन नभएका योजनालाई पनि पुनः समेटिएको छ। प्रदेश सरकारको सेवालाई प्रभावकारी बनाउन प्रदेशका सबै मन्त्रालयहरु एकै स्थानमा रहनेगरी एकीकृत प्रशासनिक भवन निर्माणको योजना सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा सुरुवात गरिएको सहिद, बेपत्ता र घाइतेको निशुल्क उपचार गर्ने, सहिद, वेपत्ता र घाइतेका परिवारलाई मासिक जीवननिर्वाह भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइने भएको हो।

यसअघिकै कार्यक्रमहरु सबै कर्णालीबासी र यहाँ कार्यरत कर्मचारीको दुर्घटना तथा जोखिम बिमा गर्ने, हेलो मुख्यमन्त्री कार्यक्रम, उत्कृष्ट कर्मचारीलाई कर्णाली सेवा पुरस्कार, किसान सम्मान कार्यक्रम, लगानी सम्मेलन, जडिबुटी विकास कार्यक्रम, परियोजना बैंक स्थापना, प्रदेश रंगशालाको निर्माण र सुर्खेत विमानस्थलको सुधार गर्नेजस्ता पुरानै योजनाहरु पनि नयाँ नीति तथा कार्यक्रममा दोहोरिएका हुन्।

कोरोना महामारीका कारण विगतमा धेरै योजनाहरु अधुरै रहेकाले यसपटक निरन्तरता दिइएको सरकारको दाबी छ। अधिकांश पुराना योजना र कार्यक्रमहरुले निरन्तरता पाइरहँदा प्रदेश सरकारले केही नयाँ कार्यक्रम पनि घोषणा गरेको छ।

आगामी आर्थिक वर्षलाई ‘कर्णाली बृक्षारोपण वर्ष’ घोषणा गर्ने, सुर्खेतमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने र वर्षभरि खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन ‘कर्णाली जनता सिँचाइ कार्यक्रम’ सञ्चालन गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै एक मन्त्रालय, एक विषेश कार्यक्रम घोषणा गरी प्रदेश गौरवका आयोजना सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here